अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको विश्वकप ट्रफी आज काठमाडौंका चन्द्रागिरिमा सार्वजनिक गरिएको छ।
चन्द्रगिरिमा नेपालका पूर्व कप्तानहरु उत्तम कर्माचार्य र पवन अग्रवालले सार्वजनिक गरेका हुन्। शुक्रबार काठमाडौं ल्याइएको ट्रफि शनिबार पोखरा लगेर फेरि काठमाडौंमै फिर्ता ल्याइएको थियो।
सन् २०१९ मा हुने विश्वकप क्रिकेट अघि विभिन्न देशमा ट्रफीलाई टूर गराउने अभियान अन्र्तगत आईसीसीको ट्रफी नेपाल ल्याएको हो। चन्द्रगिरि पछि भोलि ट्रफीलाई काठमाडौंको बसन्तपुरमा पनि सार्वजनिक गरिने छ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारी निवास वालुवाटारमा ट्रफी सार्वजनिक गराउने कार्यक्रम यसअघिनै तय भए पनि प्रधानमन्त्री अस्वस्थ भएकाले उक्त कार्यक्रम भने स्थगित भएको जनाइएको छ।
विश्वकप ट्रफी टूर दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याइएको थियो।
अब ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ।