पोखर प्रिमियर लिग पीपीएलमा धनगढी ब्लुजले पहिलो जित दर्ता गरेको छ।
काठमाडौं रोयल्ससँग पहिलो खेलमा १७ रनले पराजित भएको धनगढीले आज आफ्नो दोस्रो खेलमा विराटनगर टाईटन्सलाई ७८ रनले पाखा लगाएको हो।
टस हारेर पहिला ब्याटिङ गरेको दीपेन्द्रसिंह ऐरी नेतृत्वको धनगढी निर्धारित ओभरमा १८२ रनमा अल आउट भएको थियो।
धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरी र विदेशी खेलाडी पिटर ट्रेगोले चौथो विकेटका लागि ६० रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए। तर दिपेन्द्र २९ रनमा आउट भएपछि धनगढीले ९८ रनमा चौथो विकेट गुमाएको थियो।
धनगढीका लागि पिटरले ५३ रनको योगदान गरे। अन्तिममा सौरभ खनालले विस्फोटक पारि खेल्दै ४१ रन जोडेपछि विराटनगरलाई ठूलो चुनौती दिन सफल भएको हो। बलिङ तर्फ विराटनगरका जितेन्द्र मुखियाले चार विकेट लिएका थिए।
१८३ रनको लक्ष्य लिएर मैदान उत्रिएको विराटनगर १६ दशमलब ४ ओभरमा १०४ रन बनाउँदै अल आउट भएको थियो। विराटनगरका लागि सुनिल धमलाले २१ रन बनाउँदा पाकिस्तानी खेलाडी मोहम्मद जइदले १९ रन बनाएका थिए।
धनगढीका डन लरेन्सले ३ विकेट लिएका थिए।