सरकारले १३औं दक्षिण एशियाली खेलकुद अर्को वर्ष भदौमा गर्ने गरि तयारी सुरु गरेको छ ।
१३औं साग तयारी तथा व्यवस्थापन समितिको युवा तथा खेलकूद मन्त्रालयमा बसेको बैठकमा नयाँ मितिबारे छलफल भएको छ । अन्र्तराष्ट्रिय सहभागिता हुने भएकाले अन्य देशको सहमति लिएर भदौ तिर गर्ने तयारी गरिएको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए ।
संघीय संरचनाअनुसार खेल हुने स्थलको स्थानीय तह प्रमुखहरुसमेत समावेश गरि पुनर्गगठन गरिएको तयारी तथा व्यवस्थापन समितिको आइतबार बैठक बसेको हो । यसअघि आगामी फागुन २५ देखि चैत ४ (मार्च ९ देखि १८) सम्म काठमाडौं र पोखरामा १३औं सागको आयोजना हुने तय भएको थियो । तर, भौतिक पूर्वाधारको तयारी नसकिएको र समयमै बजेट निकासा नहुँदा प्रतियोगिता सारिएको हो ।
भौतिक पूर्वाधार तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिब केशब विष्टले जानकारी दिए । १२औं साग भारतमा सम्पन्न भएपछि तत्कालिन युवा तथा खेलकूद मन्त्री सत्यनारायण मण्डलले १३औं साग नेपालमा आयोजना गर्ने झण्डा लिएर आएका थिए ।
त्यतिबेला देखिनै भौतिक पूर्वाधार निर्माणको तयारी तिब्र पारिए पनि अझै पूर्णरुपमा सम्पन्न भइसकेका छैनन् । प्रतियोगितामा २८ खेल प्रस्तावित गरिएको छ । भने काठमाडौं उपत्यका र पोखरामा हुने प्रतियोगितास्थलहरुको पनि अन्तिम टुंगो लागेको छैन ।