नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टी–२० क्रिकेटको बरियतामा पर्न सफल भएका छन्।
आईसीसीले जारी गरेको टी–२० क्रिकेटको व्याटिङ र अलराउन्डर विधाको बरियतामा पर्न पारस सफल भएका हुन्। कप्तान पारस अलराउन्डरमा ४१ औं स्थानमा परेका छन्। ४१ औं स्थानमा पर्ने क्रममा कप्तान पारसले इंग्ल्यान्डका जाइ रुट, बेन स्टोक्स, दक्षिण अफ्रिकाका क्रिस मोरिस, पाकिस्तानका हसन अली लगायत विश्वका चर्चित खेलाडीलाई पछि पारेका छन्।
यस्तै, व्याटिङको बरियतामा कप्तान पारस ९३ औं स्थानमा रहेका छन्। व्याटिङको बरियतामा उनले वेष्ट इन्डिजका एन्ड्रे रुसेल, कैरोन पोलार्ड र अष्ट्रेलियाका क्रिस लिनलाई पछि पारेका छन्।
यसैगरी नेपालका सोमपाल कामी टी–२० क्रिकेटको बलिङतफए ९४ औं स्थानमा छन् भने अलराउन्डरमा ६४ औं स्थानमा परेका छन्। नेपालकै बसन्त रेग्मी बलिङतर्फ ७५ औं स्थानमा पर्न सफल भएका छन्।
टी–२० क्रिकेटको व्याटिङतर्फको बरियतामा पाकिस्तानका बाबर अजाम शीर्ष स्थानमा रहँदा बलिङतर्फ अफगानिस्तानका बलर राशिद खान शीर्ष स्थानमा छन्। अलराउन्डरतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्श्वेल शीर्ष स्थानमा छन्।