राष्ट्रिय खेलकूद परिषद्को उपाध्यक्ष पदमा पिताम्बर तिम्सिनाले सपथ लिएका छन्।
हालैको मन्त्रिपरिषद्को बैठकले राखेपको सदस्यमा काठमाडौंका तिम्सिनासहित पोखरा राजेश गुरुङ र ओखलढुंगाकी इन्दिरा निरौलालाई सदस्यमा मनोनीत गरेको थियो।
युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले तीनजनालाई मन्त्रालयमा पद तथा गोपनीयताको सपथ ग्रहण गराए लगत्तै तिम्सिनालाई उपाध्यक्ष पदको सपथ गराएका थिए।
तिम्सिनाले यसअघि पनि २०६६ सालमा परिषद्को उपाध्यक्षका रूपमा काम गरेका थिए। लामा टेण्डी शेर्पाको कार्याकाल सकिएपछि राखेपमा उपाध्यक्ष पद रिक्त रहेको थियो।
सपथ ग्रहण कार्यक्रममा मन्त्री विश्वकर्माले राखेपमा पदाधिकारीहरु पूर्ति भएकाले काम गर्न सहज हुने विश्वास व्यक्त गरे।
राखेपमा सदस्य सचिबको जिम्मेवारी बढी हुने भए पनि सबै पदाधिकारीको साथ र सहयोग लिएर खेलकुदको विकासमा लाग्न उनले निर्देशन दिए।
उपाध्यक्ष तिम्सिनाले विगतमा आफूले राखेपमा नेतृत्व गरेको अनुभवलाई व्यबहारमा प्रयोग गर्ने बताए। उनले खेलकुदमा कुनै पनि गलत गतिविधि हुन नदिने प्रतिवद्धता व्यक्त गरे।
राखेपका सदस्य सचिब केशबकुमार विष्टले सबैसँग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आसन्न आठौं राष्ट्रिय खेलकूद र १३औं सागको तयारीमा जुट्ने बताए।