थ्रीस्टार क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको दाेस्राे स्थानमा उक्लिएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेल युथ क्लबलाई २–० ले पराजित गर्दै थ्रीस्टार दाेस्राे स्थानमा उक्लिएको हो।
पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्रीस्टारले दोस्रो हाफमा दुई गोल गरेको थियो। खेलको ५२ औं मिनेटमा जावलाखेलका कुलदिप कार्कीले डि एरियाभित्र बल हेन्ड गरेपछि थ्रीस्टारले पेनाल्टी पायो र त्यसमा रञ्जित धिमाल चुकेनन्।
यस्तै ७० औं मिनेटमा पाएको फ्रिकिकमा रञ्जित धिमालले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए। सुनिल बललाई धकेलेपछि जावलाखेलका कुलदिप रातोकार्ड खाँदै मैदानबाट बाहिरिएपछि जावलाखेल अन्तिम २० मिनेट १० खेलाडीमा सीमित भएको थियो।
जितसँगै थ्रीस्टार ७ खेलबाट १८ अंक जोड्दै लिगको दाेस्राे स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको मनाङ १८ अंकका साथ शीर्ष स्थानमा कायमै छ। जावलाखेल भने ७ खेलबाट ४ अंक जोड्दै लिगको १२ औं स्थानमा छ।