सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लवले लगातार सातौं जित दर्ता गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा मच्छिन्द्रलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो। मनाङका लागि खेलको ८५ औं मिनेटमा अफिज ओलाओलेले गरेको गोल नै निर्णायक बन्यो।
मनाङले खेलको पहिलो हाफमा आधा दर्जन भन्दा बढी गोल गर्ने मौका खेर फालेको थियो। जितसँगै मनाङले सात खेलबाट २१ अंक जोड्दै दोस्रो स्थानको थ्रीस्टारसँगको दूरी ३ अंकले बढाएको छ। दोस्रो स्थानमा रहेको थ्रीस्टारको समान खेलबाट १८ अंक छ।
मनाङसँग पराजय भोगेको मच्छिन्द्र भने अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।