उमेर मात्र ७ । तर क्रिकेट टीमका उपकप्तान । आगामी २६ डिसेम्बरदेखि हुन लागेको तेस्रो टेस्ट म्याचका लागि अष्ट्रेलियाले आफ्नो १५ सदस्यीय टीममा एक ७ वर्षीय लेग स्पीनरलाई समावेश गरेको छ । उनको नाम हो आर्ची शिलर। अष्ट्रेलियाका कप्तान टिम पेनले शनिबारआर्चीको सातौं जन्मदिनका अवसरमा उनी टीममा रहेको घोषणा गरेका हुन् ।
आर्चीले यसअघि एडीलेड टेस्टका क्रममा अष्ट्रेलियाई टीमका साथ अभ्यास गरेका थिए । क्रिकेट अष्ट्रेलियाको आधिकारिक वेबसाइटका अनुसार आर्चीलाई टेस्ट टीममा सहभागी गराउने समाचार यसै महिना सार्वजनिक गरिएको थियो । त्यतिबेला अष्ट्रेलिाई टीम युएईमा पाकिस्तानविरुद्ध सिरिज खेलिरहेको थियो ।
कसरी सम्भव भयो ?
आर्चीलाई टीममा समावेश गर्न ‘मेक व विश अष्ट्रेलिया’ अभियानका कारण सम्भव भएको हो । यसअन्तर्गत अप्ठेरोमा रहेका बालबालिकाको इच्छा पूरा गर्न प्रयास गरिन्छ । आर्ची ३ महिनाको छँदा मुटुको समस्या रहेको पत्ता लागेको थियो । उनलाई दक्षिण अष्ट्रेलियाबाट मेलबर्न ल्याइयो, जहाँ उनको शल्यक्रिया गरियो, जुन ७ घण्टासम्म चल्यो । ६ महिनापछि उनको भल्भ र धड्कनसँग सम्बन्धित समस्या देखियो । गत वर्ष उनको तेस्रोपटक ओपनहार्ट सर्जरी भयो ।
अष्ट्रेलियाका कप्तान टिम पेनले भने, ‘आर्ची र उनका परिवार ठूलो संकटबाट गुज्रिरहेका छन्, उनका पिताले एकदिन सोध्दा उनले अष्ट्रेलियाको कप्तान बन्न चाहन्छु भने । यस्तो व्यक्तिको साथ हुनु हाम्रो टोलीका लागि प्रेरणादायी कुरा हुनेछ ।