सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लब बराबरीमा रोकिएका छन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा च्यासल र एपीएफ क्लबले १–१ गोलको बराबरी खेलेका हुन्। खेलमा सुरुवाती अग्रता भने च्यासल क्लबले लिएको थियो।
खेलको ३० औं मिनेटमा सन्तबहादुर गुरुङले गोल गर्दै च्यासललाई अग्रता दिलाए। विश्व अधिकारीले प्रहार गरेको बल एपीएफका सन्तोष कुमार कटवालले गोल लाइनबाट बचाएपनि रिबाउण्डमा सन्तबहादुरले गोल गरेका थिए।
खेलको ४१ औं मिनेटमा एपीएफले पेनाल्टी पाएपनि उसका सुदिप शिख्राकारको प्रहार च्यासलका गोलकिपर दिनेश थापाले बचाए। पहिलो हाफमा १–० ले पछि परेको एपीएफले ५४ औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएको थियो।
एपीएफका लागि श्याम कुमार नेपालीले गोल गरेका थिए। ७७ औं मिनेटमा गौरव बुढाथोकी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि च्यासल १० खेलाडीमा सीमित भएको थियो। तर, एपीएफले त्यसको फाइदा उठाउन सकेन र खेल बराबरीमा सकियो।
बराबरीसंगै एपीएफ ११ खेलबाट १७ अंक जोड्दै लिगको छैठौं स्थानमा उक्लिएको छ। समानखेलबाट १५ अंक जोडेको च्यासल लिगको आठौं स्थानमा छ।