राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब जावलाखेल युथ क्लबसंग गोलरहित बराबरीमा रोकिएको छ ।
हल्चोकस्थित एपीएफ मैदानमा पाएको मौका सदुपयोग गर्न नसक्दा आर्मीले जावलाखेलसंग अंक बाडेको हो । बराबरीसंगै आर्मीले लिगको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । आर्मीले १२ खेलबाट २२ अंक जोडेको छ । जावलाखेल १२ अंक जोडेर तालिकाको नवौं स्थानमा छ । अर्को खेलमा ब्रिगेड ब्याइजले फ्रेन्ड्सलाई तीन शुन्यले हरायो ।
खेलको १५ औं मिनेटमा काजिम बुसारीको गोल मार्फत अग्रता बनाएको ब्रिगेड ब्याइजले ४६ औं मिनेटमा दोस्रो गोल गर्यो । यसपटकपनि काजिमले नै गोल गरे । त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा अब्दु निसाहले गोल गर्दै फ्रेन्ड्सलाई तीन शुन्यले हरायो ।
जितपछि ब्रिगेड ब्याइजले नौ अंक बनाएको छ । फ्रेन्ड्सको पनि नौ अंक नै छ । सोमबारै भएको पहिलो खेलमा न्यूरोड टिम (एनआरटी)ले मच्छिन्द्र क्लबसित ५–५ गोलको बराबरी खेल्यो । एन्फा कम्प्लेक्समै भएको खेलको ३० मिनेटमै मच्छिन्द्रले ४–१ को अग्रता लिएर पनि बराबरीमै चित्त बुझाउनुपर्यो ।