सहिद स्मारक ’ए’ डिभिजन लिगको विजेता भइसकेको मनाङ मर्स्याङ्दी क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
दुई खेल खेल्नुअघि नै लिग च्याम्पियन बनेको मनाङले बुधबार एपीएफको मैदानमा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले हराउँदै लिगमा अपराजित यात्रा कायमै राखेको हो।
खेलमा सुरुवाती अग्रता मनाङले नै लिएको थियो। खेलको ३६ औं मिनेटमा अफिज ओलावालेले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ४५ औं मिनेटमा हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए।
खेलको ६३ औं मिनेटमा विशाल राईले गोल गर्दै मनाङलाई २ –१ को जित दिलाए। जितसंगै लिग च्याम्पियन मनाङले १२ खेलबाट ३६ अंक जोडेको छ। पराजित भएको हिमालयन शेर्पा समान खेलबाट १७ अंकका साथ तालिकाको सातौं स्थानमा छ।