सहिद स्मारक ए डिभिजन लिग फुटबलमा निरन्तर जित निकाल्दै लिग अन्त्य गर्ने मनाङ मस्र्याङ्दी क्लबको सपना अधुरै रहयो । मंगलबार भएको अन्तिम खेलमा मनाङ फ्रेन्डस क्लबसँग १–० ले गोल अन्तरले पराजित भयो। यद्पी मनाङले दुई खेल अगावै उपाधि जितिसकेकोछ।
अन्तिम खेलमा जित निकाल्दै निरन्तर जितसहित लिग च्याम्पियन बन्न मैदान उत्रिएको मनाङ विरुद्ध दोस्रो हाफको अतिरिक्त समयमा फ्रेन्डसका विकास लामाले हेडमार्फत गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले अनिल महर्जनको फ्रिकिकमा हेडमार्फत टिमलाई निर्णायक अग्रता दिलाएपछि लिगमा मनाङ पहिलो हार ब्योहोर्न बाध्य भयो ।
लिग च्याम्पियन बनेको मनाङले ट्रफीसँगै नगद ५० लाख पुरस्कार हात पारिसकेको छ । त्यस्तै उपविजेता संकटाले ३५ लाख प्राप्त गर्दा तेस्रो बनेको थ्री स्टारले २५ लाख प्राप्त गर्न सफल भयो । चौंथो बनेको आर्मीले १५ लाख प्राप्त गर्यो । त्यस्तै पाँचौँ बनेको एपिएफले ७ लाख प्राप्त गर्दा छैटौं स्थानमा लिग अन्त गरेको विभागिय पुलिसले ५ लाख हात पार्यो ।