इंग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुल विजयी भएकाे छ। गएराति भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ४ - ३ गोल अन्तरले हराएको हो।
घरेलु मैदानमा १० खेलाडीमा सिमित लिभरपुलले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो। लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे। यस्तै रोबर्टो फिर्मिन्हो र साडियो मानेले एक एक गोल थपेका थिए। क्रिष्टलका एन्ड्रोस टाउनसेन्ड, जेम्स टोनकिन्स र म्याक्स मेयरले एक एक गोल गरे।
एनफिल्डमा खेलको ३४ औ मिनेटमा टाउनसेन्डले गोल गर्दै क्रिष्टललाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १ - ० ले पछि परेको लिभरपुल दोस्रो हाफमा खेलमा फर्किएकाे थियाे।
जितसंगै लिभरपुलले लिगमा ७ अंकको अग्रता कायम गरेको छ । लिभरपुलले २३ खेलबाट ६० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५३ अंक छ । तर, सिटीले एक खेल कम खेलेको छ । पराजित क्रिष्टल २२ अंकसहित १४ औ स्थानमा छ ।