च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब टोट्टनहामले जित हात पारेका छन्। रियल मड्रिडले डच क्लब आयाक्सलाई उसैको मैदानमा २-१ गोल अन्तरले हरायो।
टोट्टनहामले भने घरेलु मैदानको फाइदा उठाउँदै जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डमाथि ३-० गोलको पाखा लगाएकाे थियाे। रियल म्याड्रिड र आयाक्सबीचको प्रतिस्पर्धात्मक खेलमा तीनवटै गोल दोस्रो हाफमा भएका थिए।
६०औं मिनेटमा अनुभवी खेलाडी करिम बेन्जेमाले रियल म्याड्रिडका लागि पहिलो गोल गरेका थिए। ७५औं मिनेटमा घरेलु टोलीका आयाक्सका हकिम जियचले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि मार्को एसेन्सियोले निर्णायक गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए। रियलकाे जितमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिको पनि महत्वपूर्ण हात रह्यो। रियल म्याड्रिडविरुद्घ सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको आयाक्सका निकोलस ताग्लियाफिकोले गरेको एउटा गोललाई भीएआर प्रविधिले मान्यता नदिएपछि रियल मड्रिडको भाग्य चम्किएको थियो। च्याम्पियन्स लिगमा पहिलो पटक कुनै पनि गोललाई भीएआर प्रविधिले मान्यता नदिएको हो।
गोल गर्नुअघि निकोलस अफ साइड पोजिसनमा रहेकोले कारण देखाउँदै उनको गोललाई मान्यता नदिइएको हो। प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेल अब आगामी मार्च ५ तारिखमा रियल म्याड्रिडको घरेलु मैदानमा खेलिने छ।
यसैगरी बोरुसिया डर्टमन्डविरुद्धको खेलमा टोट्टनहामले तीनवटै गोल दोस्रो हाफमा गरेको थियो। ४७औं मिनेटमा ह्युङ मिन सनले टोट्टनहामलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको अन्त्यतिर चार मिनेटको बीचमा टोट्टनहामले थप दुई गोल गरेको थियो।
खेलको ८३औं मिनेटमा जन भर्टोङ्घनले टोलीको अग्रता दोब्बर बनाएका थिए। ८६औं मिनेटमा फर्नान्डो लोरेन्टले अर्को गोल थप्दै घरेलु मैदानमा टोट्टनहामलाई सजिलो जित दिलाएका थिए। उनले परिवर्तित खेलाडीको रुपमा मैदानभित्र प्रवेश गरेको तेस्रो मिनेटमै गोल गरेका हुन्।प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेल मार्च ५ तारिखमा बोरुसिया डर्टमन्डको घरेलु मैदानमा खेलिने छ।