नूरगंगा प्रतिभा सम्मान गुठीले यस वर्षको वरिष्ठ साहित्य सम्मान शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गर्ने भएको छ ।
गुठीको शुक्रबार साँझ सम्पन्न साधारण सभाले इतिहास तथा साहित्यविद् जोशीलाई सम्मानित गर्ने निर्णय गरेको हो । गुठीले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान गर्दै आएको छ । गुठीले यस वर्षको ‘राष्ट्रिय बाल साहित्य लेखन प्रतिभा पुरस्कार’ विनयकुमार कसजूलाई दिने भएको छ । बाल साहित्य पुरस्कार राशि १ लाख रुपैयाँ र प्रमाणपत्र छ ।
नूरगंगा लुम्बिनी अञ्चलस्तरीय लोकगायन प्रतिभा पुरस्कार नवलपरासीका तेजबहादुर केसीलाई दिने भएको छ । पुरस्कार राशि ३० हजार रुपैयाँ छ । गुठीले नूरगंगा क्षेत्रीय साहित्य नवप्रतिभा पुरस्कार रुपन्देहीका अस्मित रेग्मीलाई दिने निर्णय गरेको छ ।
पुरस्कार राशि १५ हजार रुपैयाँ छ । त्यस्तै नूरगंगा राष्ट्रिय लोकगान नवप्रतिभा पुरस्कार बागलुङकी निरु श्रीसलाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कार राशि १५ हजार रुपैयाँ छ । सबै पुरस्कार वैशाख १८ गते विशेष समारोहसाथ प्रदान गरिने गुठीले जनाएको छ ।
लुम्बिनी अंचलका साहित्य, लोकगायन, र संस्कृति लगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने उद्देश्यले २०४९ सालमा नूरगंगा प्रतिभा गुठी स्थापना भएको हो । उद्योगपति तथा समाजसेवी दिवंगत नूरप्रताप राणा र उनकी पत्नी गंगादेवी राणाको स्मृतिमा सञ्चालित गुठीले विभिन्न रचनात्मक कार्य गर्दै आएको छ ।