भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म (बायोपिक) ‘नरेन्द्र मोदी’ को पोस्टर लन्च गरिएको छ । फिल्ममा मोदीको भूमिकामा अभिनेता विवेक ओबेराय देखिँदैछन् भने उनकी पत्नी आनन्दीबेनको भूमिका बर्खा बिष्टले गर्ने पक्का भएको छ । अन्य कलाकार भने तय हुन बाँकी रहेको बताइएको छ ।
सन्दीप एस सिंहले निर्माण गर्ने फिल्मको निर्देशन ओमंग कुमारले गर्नेछन् । ओमंग कुमारले यसअघि बक्सिङ खेलाडी एमसी मेरी कमको जीवनीमा आधारित फिल्म मेरी कम र सरबजीत नामका बायोपिक निर्देशन गरिसकेका छन् ।
सुरुमा परेश रावलले नरेन्द्र मोदीको भूमिका गर्ने पक्का भएको थियो । तर पछि परेशले फिल्म छाडेपछि विवेक ओबेरायले गर्ने भएका हुन् । फिल्मको तयारी सुरु भइसकेको र आगामी लोकसभा चुनावअघि नै सुटिङ सक्ने गरी काम हुने बताइएको छ ।
फिल्ममा चिया पसल चलाएको, गुजरात रोड ट्रान्सपोर्ट कर्पोरेशनको क्यान्टिन कर्मचारीको रुपमा काम गरेको, राजनीतिमा प्रवेश, गुजरातको मुख्यमन्त्रीदेखि लिएर प्रधानमन्त्री बन्नेसम्मको मोदीको जीवनयात्रा देखाइनेछ । फिल्मको सुटिङ मोदीकै गृहनगर गुजरातमा गरिने जनाइएको छ ।