विदेशभन्दा धेरै कमाइ गाउँमै हुुन थालेपछि मोरङ कटहरी गाउँपालिका ४ का महावीर सिंहले विदेश जाने सोच त्यागे । ३ वर्ष मलेसियामा काम गरी उनी नेपाल फर्किए । आफूले गरिरहेको व्यावसायिक खेतीले पुनः विदेश जाने सोच अहिले बदलिएको छ । तरकारी खेतीबाट भएको आम्दानीले उनको विदेश जाने सोचमा परिवर्तन ल्याएको हो ।
वर्षदिनअघि २ बिघामा सुरु गरेको तरकारी खेतीबाट उनले अहिले वार्षिक ६ लाख बढी आम्दानी गरिरहेका छन् । बिदामा स्वदेश फर्किएका महावीरले गोलभेंडा, बन्दा, काउलीलगायत तरकारीबाटै विदेशभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । यही आम्दानीले अहिले उनी यहाँको सफल किसानका रूपमा दरिएका छन् ।
महावीर मात्र होइन जहदा गाउँपालिका ४ का मनोज सिंहलाई पनि फ्री भिसामा विदेश जाने अवसर प्राप्त भयो । मार्केटिङको कामका लागी विदेश जाने अवसर छाडेर उनले पनि तरकारी खेती आरम्भ गरे । उनको बारीमा अहिले बन्दा, काउली, गोलभेडालगायत तरकारी फलिरहेका छन् । डेढ बिघा लगाएको खेतीबाट उनले मनग्ये आम्दानी गरिरहेका छन् । यसबाटै परिवारको दैनिकी चलेको उनी बताउँछन् ।
६ कठ्ठामा लगाएको गोलभेडाबाट ४ लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको उनले सुनाए । ‘यसपटक मौसमले पनि साथ दिएकाले गोलभेडाबाट सोचेजस्तै आम्दानी भयो,’ उनले भने, ‘विदेश नगएर यहींको आम्दानीले खुसी दिएको छ ।’
विदेशमा चौबीसै घण्टा खटेर आएको कमाइभन्दा स्वदेशमा परिवारमाझ भएको कमाइले खुसी दिएको उनको भनाइ छ । ‘यसले मलाई मात्र होइन परिवारलाई नै खुसी बनाएको छ,’ उनले सुनाए । बाबु–बाजेका पालादेखि गरिँदै आएको खेती व्यावसायिक रूपमा गर्न थालेपछि फाइदा पनि बढेको किसानहरू बताउँछन् ।
कटहरी र जहदा गाउँपालिका सीमा जोडिएका छन् । अहिले दुुवै गाउँपालिका करिब २ सय बढी किसान व्यावसायिक तरकारी खेतीमा संलग्न छन् ।
यहाँ उत्पादन भएका तरकारीले विराटनगरको ६० प्रतिशत बजार धानेको छ । उनीहरूले गरेको खेती र त्यसबाट भएको आम्दानी देखेर यहाँका धेरै युवा विदेश जाने सोच त्यागेर व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।
यस क्षेत्रमा उत्पादन हुने गोलभेडा खरिद गर्न व्यापारीहरू खेतमै पुुग्ने गर्छन् । उत्पादन गरेको तरकारीले अझै उचित मूल्य भने पाउन सकेको छैन । उत्पादनको उचित मूल्यांकन नभएको भन्दै किसानहरूले गोलभेडाको जुस उत्पादन गर्ने उद्योग स्थापनाको माग पनि गरेका छन् । उद्योग स्थापना गर्न सरकारको सहयोग पाए आफूहरू उद्योग स्थापना गर्न तयार रहेको किसान सिंहको भनाइ छ ।