सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको सेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्य साथ सुरु भएको जनताको जलविद्युत् कार्यक्रममा उत्साहपूर्ण सहभागिता भएको छ ।
देशका महत्वपूर्ण पदमा आसिन व्यक्ति नै कार्यक्रममा सहभागी भई जनतालाई सहभागिताका लागि आग्रह गर्नुले पनि त्यसको महत्व बढ्दै गएको छ । स्वदेशी लगानीमै आयोजना निर्माण गर्ने र त्यसको प्रतिफलसमेत नेपालीलाई नै दिने लक्ष्यसाथ सरकारले आरम्भ गरेको कार्यक्रममा सभामुख कृष्णबहादुर महरा पनि जोडिएका छन् ।
सभामुख महराले बिहीबार ग्लोबल आईएमई क्यापिटलमा हितग्राही खाता खोलेका छन् । जनताको जलविद्युत् कार्यक्रमको दोस्रो चरणमा शुक्रबारदेखि साधारण सेयर बिक्री सुरु भएको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको सेयरसमेत महराले खरिद गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा महराले जनताको जलविद्युत् कार्यक्रममा सहभागी भई साधारण सेयर खरिद गरेका हुन् ।
पहिलोपटक साधारण सेयर खरिद समारोहमा सहभागी भएका महराले सरकारले नयाँ कार्यक्रम थालेकोमा खुसी व्यक्त गरे । ऊर्जामन्त्री वर्षमान पुनले पनि रसुवागढीमा १ लाख रुपैयाँ बराबरको हजार कित्ता र साञ्जेनमा पचास हजार रुपैयाँबराबरको ५ सय कित्ता साधारण सेयरमा आवेदन दिएका छन् । पूर्वसभामुख ओनसरी घर्तीले पनि रसुवागढीमा १ लाख रुपैयाँ बराबरको हजार कित्ता र साञ्जेनमा ५० हजार रुपैयाँको ५ सय कित्ता साधारण सेयर आवेदन दिइन् ।
यसअघि पहिलो कार्यक्रममा प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यले पनि सेयरमा आवेदन दिएका थिए । माथिल्लो त्रिशूली थ्री बीको सेयरमा आवेदन दिएका ओलीले २० कित्ता सेयर प्राप्त गरेका थिए ।
सोही कार्यक्रमअन्तर्गत आज दोस्रो चरणमा रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी १ अर्ब ५४ करोड बराबरको साधारण सेयर बिक्री सुरु गरेको छ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । कार्यक्रमअन्तर्गत विभिन्न १९ आयोजनाबाट ३ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।