राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ । यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा अब भदौ १ देखि ११ सम्म हुनेछ ।
बोर्डका अनुसार अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा भदौ १ मा हुनेछ । भदौ २ मा गैरनेपाली विद्यार्थीका लागि अंग्रेजी विषयको परीक्षा निर्धारण गरिएको छ ।
अनिवार्य गणित र अनिवार्य विज्ञान विषयको परीक्षा भने क्रमश: भदौ ३ र ४ गते हुने बोर्डको संशोधित तालिकामा छ । भदौ ५ गते प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट एन्ड मार्केटिङ, इन्जिनियरिङ ड्रइङ, कम्प्युटर रिपेयर एन्ड मेन्टेनेन्स र बेसिक म्युजिक विषयको परीक्षा हुनेछ ।
भदौ ६ मा अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, अनिवार्य संस्कृत भाषाको परीक्षा हुनेछ भने प्राविधिकतर्फ अक्वाकल्चर एन्ड फिसरिज, इलेक्ट्रिकल मेजरमेन्ट एन्ड इन्स्ट्रुमेन्ट, कम्प्युटर नेटवर्क, इन्जिनियरिङ सर्भे र म्युजिक अफ नेपालको परीक्षा पनि सोही दिन हुनेछ ।
यस्तै भदौ ७ गते शनिबार ऐच्छिक प्रथमका सबै विषय र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुने बोर्डले जनाएको छ । भदौ ८ देखि ११ सम्म प्राविधिकतर्फका अन्य विषयको परीक्षा निर्धारण गरिएको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म चल्ने बोर्डले जनाएको छ । सैद्धान्तिक २ विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी पूरक (ग्रेड वृद्धि) परीक्षामा सहभागी हुन पाउनेछन् ।
हेर्नुहोस् तालिका