पोखरा, २ असोज। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक केन्द्र बनाइने घोषणा गरेका छन्।
संविधान दिवसमा सरकारबाट पुरस्कृत कास्कीका चार विद्यालयको सम्मानार्थ जिल्ला समन्वय समिति कास्कीद्वारा आज आयोजित कार्यक्रममा उनले भौगोलिक अवस्थितिसमेतका आधारमा पोखरा सबैकिसिमका सम्भावनाको स्थल भएको प्रष्ट पारे।
पोखरामा समयसापेक्ष गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्थाको विकास गरिने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले आगामी २० वर्षभित्रमा पोखरालाई दक्षिण एशियाकै उत्कृष्ट पाँचौँ शैक्षिकस्थल बनाउने लक्ष्य राखिएको जानकारी दिए।
सामुदायिक विद्यलायमा पढाउने तर आफ्ना बालबच्चा निजी विद्यालयमा पठाउने प्रवृत्ति निरुत्साहन गरिनुपर्नेमा जोड दिँदै सबैको सामूहिक प्रयासमा मात्र शिक्षाको गुणस्तरीयता सम्भव हुने उनको धारणा थियो।
गण्डकी प्रदेश विश्व विद्यालयल स्थापना गरी स्वदेशी एवं विदेशी विद्यार्थीको आकर्षण केन्द्र बनाइनेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले त्यस्ता स्थल राजनीतिकरुपमा नभई प्राज्ञिक क्षेत्रबाट सञ्चालन गरिने पनि बताए।
मुख्यमन्त्री गुरुङले सरकारबाट २०७४ मा उत्कृष्ट घोषित कास्कीका सामुदायिकतर्फ शीतलादेवी मावि, संस्थागततर्फ मदरल्याण्ड आवासीय मावि, त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसतर्फ पृथ्वीनारायण क्याम्पस र कक्षा ११÷१२ सञ्चालितमध्येमा अमरसिंह माविलाई सम्मान गरेका थिए।