श्रोत व्यक्तिको ठाउँमा राखिएका सट्टा शिक्षकहरु आन्दोलित भएका छन्।
सरकारले श्रोत केन्द्रमा कार्यरत श्रोतव्यक्तिहरुलाई विद्यालयमा फर्काउन निर्णय गरेपछि उनीहरुको सट्टामा कार्यरत शिक्षकहरु आन्दोलित भएका हुन्।
श्रोतव्यक्ति सट्टा शिक्षक केन्द्रीय संघर्ष समिति नेपालले श्रोत व्यक्ति फिर्ताको निर्णय अबिलम्ब सच्याउन र सट्टा तथा लियन शिक्षकहरुको रोजगारीको ग्यारेन्टी गर्न माग गरेको छ।
संघर्ष समितिका अध्यक्ष बासुदेव शर्माको नेतृत्वमा संघर्ष समितिका सदस्यहरुले नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय अध्यक्ष लक्ष्मण खतिवडालाई ज्ञापन पत्र समेत बुझाएका छन्। मुलुकभर सट्टा तथा लियन शिक्षकहरु १ हजार ५३ जना रहेका छन्।
संघर्ष समितिले आगामी ८ गतेसम्मका आन्दोलनका कार्यक्रमहरु पनि सार्वजनिक गरेकाे छ। जस अनुसार आज र भोलि सट्टा तथा लियन शिक्षकहरुले कक्षा बहिष्कार, माघ २ र ३ गते देशभरका सामुदायिक विद्यालय बन्द, ४ गते गाउँपालिकामा ज्ञापन पत्र बुझाउने र माघ ८ गतेपछि सबै शिक्षकहरु काठमाडौंमा बसेर अनिश्चितकालिन विद्यालय बन्द गर्ने रहेका छन्।