प्रधानमन्त्री केपी ओली आज (शुक्रबार) मात्रै मिर्गौला उपचार गरी सिंगापुरबाट फर्किएका छन्। मुलुकका कार्यकारी प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर विभिन्न चर्चा-परिचर्चा भइरहेका छन्।
मुलुकै हाँक्ने व्यक्तिको मिर्गौला उपचारका लागि विश्वकै जुनसुकै पद्धति र अस्पतालमा सहज पहुँच भए पनि मुलुकभित्रका लाखौं सर्वसाधारण झालापखाला लाग्दा सामान्य जीवनजल र ज्वरो आउँदा सिटामोल नपाएर मृत्युको मुखमा पुगेका उदाहरण प्रशस्तै छन्। सामान्य व्यक्तिलाई मिर्गौला उपचार गर्नु भनेको महाभारतजस्तै मानिन्छ। उसले आफ्नो सम्पूर्ण सम्पत्ति गुमाउँदा पनि उपचार हुन नपाएरै अकालमै मृत्युको मुखमा धकेलिनुपर्ने बाध्यता छ।
उसो त १२ वर्षअघि (२०६४ सालमा) दुवै मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले आफ्नो उपचार त सिंगापुर पुगेर गरेका छन्। तर तिनै जनताले तिरेको करबाट मुलुक चले पनि नेपालमै मिर्गौलाको सहज उपचार नहुँदा अकालमै धेरैले ज्यान गुमाइरहेका छन् ।
यसको मतलब २ तिहाइ स्पष्ट बहुमतको जनमत पाएको वर्तमान सरकारका पाइलट स्वयं मिर्गौला रोगी भए पनि सर्वसाधारणको सहज उपचारका लागि केही ठोस कदम चालेको पाइँदैन। मुलुकमै अन्तर्राष्ट्रिय स्तरकै उपचार सेवा पाए सर्वसाधारणको आयु केही दिन भए पनि लम्बिनेमा दुईमत थिएन। तसर्थ राज्यबाट पनि मिर्गौला रोगबाट पीडितका लागि सहज, सरल र सुलभ उपचार सेवाको व्यवस्था गरिनुपर्ने आवश्यकता देखिन्छ।
प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा बढेकाले त्यसलाई निकाल्ने र मिर्गौलाको क्षमता बढाउने उपचार प्रक्रियाका लागि सिंगापुर लगिएको थियो। ओलीको पटक-पटक प्लाज्माफेरेसिससमेत गरिएको छ। यस्ता उपचार पद्धति नेपालमै भए सर्वसाधारणमा पनि उपचार पहुँच पुगे मृत्युदरमा समेत कमी आउने थियो।
‘आराम र स्वच्छ खानपान जरुरी’
चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई सन्तुलित भोजन र आरामको आवश्यकता रहेको सुझाव दिएका छन्। चाहे भने ओली आराम र सन्तुलित भोजन दुवै लिन सक्छन्। तर, आम सर्वसाधारण जसले काम नगरे बिहान-बेलुका हातमुख कसरी जोर्ने भन्ने अवस्थाका छन्। उनीहरुलाई मिर्गौला रोगले संक्रमण गरे कहाँको आराम अनि कहाँको सन्तुलित भोजन। उदेक लाग्दो कुरा त के पनि छ भने मुलुकमै बर्सेनि सयौं बालबालिका खाना खान नपाएर कुपोषणको शिकार भइरहेको अवस्थामा मिर्गौला रोगीले उपचार, आराम अनि सन्तुलित भोजन कसरी प्राप्त गर्ने यो सोचनीय विषय हो।
के हो एन्टीबडी र प्लाज्माफेरेसिस ?
शरीरमा हुने एन्टीबडीले कुनै समयमा प्रत्यारोपण गरिएका बिरामीको मिर्गौलालाई अस्वीकार गर्ने सम्भावना पनि रहन्छ। जीवित दाताबाट लिएको मिर्गौला प्रत्यारोपण गर्दा औसत आयु १२ देखि २० वर्षसम्म भएको र मृत व्यक्तिबाट लिँदा ८ देखि १२ वर्षसम्म बाँचेको पाइएको छ। मानव शरीरमा आक्रमण गरी हानि पुर्याउन सक्ने जीवाणुविरुद्ध लडेर शरीरको बचाउ गर्न उत्पादन गर्ने एक प्रकारको प्रोटिनजन्य रसायनलाई एन्टीबडी (इम्युनोग्लोबुलिन) भनिन्छ। एन्टीबडीले फरेन बडी अर्थात् शरीरलाई सम्भावित हानि गर्न सक्ने बाह्य तत्त्वलाई नष्ट गर्छ। शरीरमा संक्रमण रोक्न पर्याप्त एन्टीबडी हुनु राम्रो मानिने भएकाले यसलाई बढाउन विभिन्न भ्याक्सिन दिइन्छ। एन्टीबडी शरीरको प्रतिरक्षाका लागि बनेका हुन्छन्।
मिर्गौलाको काम
- हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन्। तिनले शरीरमा हुने विभिन्न प्रक्रिया हुँदा निस्किने विकारहरूलाई रगतबाट छानेर बाहिर फाल्छन्।
- मिर्गौलाको एउटा प्रमुख काम पिसाब बनाउनु पनि हो। मिर्गौलाले नै शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछन्।
- शरीरलाई चाहिने अनेकथरी तत्त्वको मात्रा व्यवस्थापन गर्छन्।
- हड्डीलाई स्वस्थ राख्ने हर्मोनहरू पनि मिर्गौलामै बन्छन्। तर रक्तचाप बढ्दा मिर्गौलाका रक्तनलीमा दबाब पर्न गई यी काम राम्ररी हुन पाउँदैनन्।
मिर्गौला स्वस्थ राख्ने केही उपाय
- पर्याप्त पानी पिउने।
- मधुमेह र उच्च रक्तचापचाप नियन्त्रण गर्ने।
- मधुमेह, उच्च रक्तचाप र मोटोपनको समस्या भएका व्यक्तिर्ले प्रत्येक वर्ष कम्तीमा एक पटक स्वास्थ्य जाँच गर्ने।
- मिर्गौलाको पत्थरी भए/नभएको नियमित जाँच गराउने।
- पेनकिलर कम सेवन गर्ने।
- दैनिक कम्तीमा १० हजार पाइला हिँड्ने।
- आफूखुसी दुखाई कम गर्ने औषधि प्रयोग नगर्ने।
- नियमित व्यायाम गर्ने ।
- धुम्रपान तथा मद्यपानको सेवन नगर्ने।
- तौल नियन्त्रण गर्ने।
- स्वस्थ्य र पोषिलो खानेकुरा खाने।
- नुन र चिनि भएका खानेकुरा बढी नखाने।
- थकान, पिसाबमा फिज देखिने, कम्मर दुख्ने जस्ता लक्षण देखिए लगत्तै स्वास्थ्य परीक्षण गराउने।
- स्वस्थ व्यक्तिले पनि वर्षमा एकपटक रक्तचापचाप र पिसाब जचाउँने। परिवारभित्र कुनै सदस्यलाई मिर्गौला रोग भए वंशानुगत समस्या देखिन सक्ने भएकाले नियमित स्वास्थ्य जाँच गर्ने।