घुराइको मुख्य कारण श्वासमा हुने अवरोध नै हो। श्वास नलीको माथिल्लो भाग फेरिङसको मांसपेशी शिथिल हुन्छ, जसका कारण श्वास भित्र तान्दा आवाज आउँछ। रातको समयमा श्वासमा रोकावट आउनुमा विभिन्न कारण हुन्छन्। जसमा निद्रा बारम्बार खलबलिनु, टाउको दुखाइ, पर्याप्त निद्राका बावजुुद फुर्ति महसुस नहुनु आदि हुन्।
घुुर्नुलाई हामीले सामान्य रुपमा लिन्छौं। तर, यो रक्तचाप, मुटुरोग, मष्तिष्काघात, श्वासमा रोकावट, मोटोपनाजस्ता खतरनाक रोगका संकेत हुन सक्छ । डाक्टरहरूका अनुसार घुर्ने क्रममा श्वास रोकिएर मानिसको मृत्युसमेत हुुन सक्छ। त्यसैले यसलाई हल्का रुपमा मात्र लिनुहुन्न।
यतिमात्र नभई घुर्ने मानिसको यौन जीवनमा पनि समस्या आउने हुन्छ । यस्तै, करिब ७० प्रतिशत उच्च रक्तचापबाट पीडित मानिस स्लीप एप्नियाबाट पीडित भएका हुन्छन्। जर्नल अफ अमेरिकन मेडिकल एशोसियसनमा प्रकाशित एक अध्ययनअनुसार बेस्सरी घुर्नु एप्नियाको सबैभन्दा प्रमुख लक्षण हो। घुर्नु उच्च रक्तचापको संकेत पनि हो।
बढी मोटोपना, फ्याटी टिस्युु र खराब मांसपेशी पनि घुराईको कारण हुन्छ। युनिभर्सिटी अफ सिकागोको एक अध्ययनअनुसार घुर्दा निद्रा खलबलिन्छ, जो मोटोपनाको कारण बन्छ। यस्तै, विस्कन्सिन विश्वविद्यालयको एक अध्ययनअनुसार स्लीप एप्नियाबाट ग्रसित मानिसमा क्यान्सरबाट मृत्युहुने सम्भावना ५ गुणा बढी हुन्छ। यसैले घुराईमा क्यान्सर पनि कारक हुन सक्छ।
चिकित्सकका अनुसार निद्रासम्बन्धी रोग ‘अब्स्ट्रक्टिभ स्लीप एप्निया’ पनि मुटुरोगका लागि जिम्मेवार मानिन्छन्। त्यसैले मुटुसम्बन्धी रोगको मुुख्य कारण घुराई पनि हो। डेट्रोइटस्थित हेनरी फोर्ड हेल्थ सिस्टमले बेस्सरी घुराई र धमनीकोक्षतिबीच सम्बन्ध पाएको थियो, जो स्ट्रोक र हृदयाघातका लागि कारण हुन्छ।