आरक्षण सिटको व्यवस्था
- सार्वजनिक यातायात आचार संहिता २०६७
सार्वजनिक यातायातमा महिला तथा शारीरिक अपांगता भएकाहरुले उनीहरुका लागि आरक्षित सिटमा बस्न नपाउनु, भाषा शिष्ट तथा महिला मैत्री नहुनु, महिलालाई असहज हुने व्यवहार गरिनु, महिलावरुद्ध आचारणलाई उत्प्रेरित गर्ने उद्दरण लेखिनु, पोस्टर तथा चित्र टासिँनु, सवारी चलाउँदा बाटोमा महिलाहरुलाई आहत गर्ने उद्देश्यले सवारी चलाउनु, रात्रिबसमा महिला सवारी यात्रीप्रति दुराशय राखिनु, यस्ता विषयलाई यातायात आचार संहिता मा उल्लेख गरिएको छ ।
काठमाडौंमा चल्ने सार्वजनिक यातायातमा सिटको क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिले भीडभाडमा महिला तथा किशोरीमाथि विभिन्न किसिमको यौन दुर्व्यवहार हुने गरेको छ ।
सार्वजनिक यात्रुवाहक यातायातको क्षेत्रमा खास गरी अशिष्ट भाषा प्रयोग हुने गरेको, महिला तथा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई असहज हुने व्यवहार गरिने, तोकिएभन्दा बढी भाडा लिन गरेको, आरक्षित सिटमा आरक्षित समूहले यात्रा गर्न नपाउने, तोकिएको समयमा तोकिएको स्थानबाट नछुट्ने तथा सोहीअनुसार नपुर्याउने जस्ता गुनासाहरु सुनिने गरेको छ । रात्रि सेवाबाट यात्रा गर्दा महिलाहरुले एकलै यात्रा गर्न नसक्ने वा डराएको अवस्थामा यात्रा गर्नुपर्ने अवस्थासमेत विद्यमान छ ।
परिभाषा
यातायात आचार संहिता भन्नाले सार्वजनिक यात्रुवाहक सवारीसाधनहरुको सेवा सञ्चालनका क्रममा सदाचार, सद्भाव तथा सुरक्षा शिष्टता तथा मर्यादा कायम राख्न पालन गर्नुपर्ने आधारभूत नियमहरु हुन् । यस्ता नियमहरु कतिपय कानुनका धाराहरुमा उल्लेख गरिएका पनि छन् भने कतिपय सभ्य समाजका सर्वस्वीकृत मान्यता र मूल्यहरु हुन । यो आचार संहिताको पालन गर्नु सबैको कर्तव्य हो र यसलाई उल्लंघन गर्नु कानुनी रुपमा दण्डनीय तथा सामाजिक रुपमा अनैतिक हुनेछन् । यातायात आचार संहिता यससँग सम्बन्धित सबै खास गरी सार्वजनिक सवारीका धनी तथा सञ्चालक, कर्मचारी, यात्रुलगायत अन्य सम्बद्ध सबैले पालन गर्नुपर्नेछ ।
सार्वजनिक यातायातमा पालना गर्नुपर्ने आचारसंहिता
सार्वजनिक यात्रुवाहक सवारीसाधनमा चालक, परिचालकले यात्रुहरुसँग तथा यात्रुहरुले पनि चालक तथा परिचालकसँग शिष्ट तथा सभ्य भाषामा कुराकानी गर्नुपर्नेछ । यात्रुवर्गले आपसमा कुराकानी गर्दा तथा खास गरी पुरुषहरुले महिलाहरुसँग शिष्ट र सभ्य भाषाको प्रयोग गर्नु पर्नेछ । सवारीभित्र खासगरी महिला वृद्ध तथा बालबालिका मैत्री वातावरण हुनुपर्नेछ । यस्ता विषयमा सवारी धनी, सवारी चालकहरुले कर्मचारीहरुलाई आवश्यक प्रशिक्षण दिने तथा सचेतना बढाउने व्यवस्था मिलाउनुपर्नेछ ।
२) महिला तथा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि आरक्षित सिटमा अनिवार्य रुपमा उनीहरुले नै बस्न पाउनुपर्नेछ । साथै वृद्ध-वृद्धा, बिरामी तथा खास गरी गर्भवतीलाई, नाबालकसहितका महिला प्राथमिकताका साथ सिट उपलब्ध गराउनु पर्नेछ । रात्रि सेवामा यात्रा गर्ने महिलाहरुलाई प्राथमिकताका साथ महिलासँगैको सिट उपलब्ध गराउनु पर्नेछ ।
३) सवारी चालक तथा परिचालकले बाटोमा महिला, शारीरिक अपाङ्गता भएका व्यक्ति, बिरामी तथा वृद्ध-वृद्धालाई भेटेमा अनिवार्य रुपमा प्राथमिकताका साथ सवारीसाधनमा यात्रा गराउनु
पर्नेछ । बाटोमा यस्ता व्यक्तिहरुले सवारीसाधन रोक्न हात उठाए, अनिवार्य रुपमा सवारीसाधन रोक्नु पर्नेछ ।
४) सार्वजनिक यात्रुवाहक सवारीसाधनभित्र कसैले पनि धूमपान तथा मद्यपान गर्न पाउने छैन । यस्ता सवारीसाधनमा अश्लील, महिलाविरुद्धका उद्दरणहरु लेख्न, लेखाउन तथा अश्लील चित्र, पोस्टर टाँस्न पाइने छैन । यस्ता उद्दरणहरु लेखिएको तथा पोस्टरहरु (चित्रसमेत) टाँसिएको भए तुरुन्त मेटाउनु हटाउनुपर्नेछ ।
४.१ यस्ता सवारीसाधनमा सार्वजनिक हित जनिने तथा उच्च नैतिकतामुखी तथा महिला हिंसालाई दुरुत्साहित गर्ने उद्दरण लेख्न प्रोत्साहन गरिनेछ । सार्वजनिक सवारीसाधनभित्र कसैले महिलालाई यौन दुर्व्यवहार गरे वा गर्न सहयोग गरे कानुनबमोजिम कारबाही हुनेछ । सवारीसाधनभित्र मद्यपान गरेको भेटिए प्रहरीले जुनसुकै बखत सवारीसाधनबाट बाहिर निकाल्न सक्नेछ ।
५) सार्वजनिक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्न तथा यात्रुका झिटी-गुन्टाबाहेक अन्य मालसामान ढुवानी गर्न पाइने छैन । यात्रुको झिटी-गुन्टा कुनै कारणले सवारीसाधनमा छुटे अविलम्ब यस्ता सामान नजिकको यातायात काउन्टर वा प्रहरी चौकीमा बुझाउनु पर्नेछ र यस्ता कार्यालयहरुले पनि प्राथमिकताका साथ सम्बन्धित व्यक्तिलाई बुझाउने व्यवस्था गर्नुपर्नेछ ।
६) चालकले सवारी चलाउदा मोबाइलमा कुराकानी गर्न पाउने छैन । सवारीसाधन चलाउँदा चालकले यात्रुसँग कुराकानी गर्न पाउने छैन साथै यात्रुले पनि चालकसँग कुराकानी गर्न पाउने छैनन् । तर सवारीसाधन रोकिएको अवस्थामा भने कुराकानी गर्न कुनै बाधा पर्ने छैनन् ।
७) सार्वजनिक सवारीसाधनहरुले जुन रुटमा चल्ने सवारीसाधन हो सो रुटको भाडा सबैले देखिने गरी सवारीसाधनमा टाँस गरी राख्नुपर्नेछ । नेपाल सरकारद्वारा तोकिएभन्दा बढी भाडा लिन पाइने छैन
८) सार्वजनिक सवारीसाधनले सवारीसाधनको दर्ता नम्बर सवारीभित्र सबैले देखिने गरी लेख्नु पर्नेछ ।
९) सार्वजनिक यात्रुवाहक सवारीसाधन सधैं दुरुस्त, सफा तथा यात्रुमैत्री हुनुपर्नेछ तथा सवारीसाधनको नियमित चेकजाँच तथा मर्मत सम्भारसमेत गरिएको हुनुपर्नेछ । सवारीसाधन तोकिएको समयमा तोकिएको स्थानबाट छुट्ने र तोकिएको समयमा तोकिएको स्थानसम्म पुग्ने गरी सञ्चालन गर्नुपर्नेछ ।
१०) सार्वजनिक यात्रुवाहक सवारीका चालक तथा परिचालकले अनिवार्य रुपमा परिचयपत्र देखिने गरि झुन्ड्याउनु पर्नेछ ।
११) सार्वजनिक सवारीसाधन बाटोमा बिग्रिए वा रोकिने अवस्था आए यात्रुलाई अलपत्र नहुने गरी वैकल्पिक व्यवस्था गर्नुका साथै यात्रुले माग गरेमा दामासाहीले भाडा फिर्तासमेत दिनु पर्नेछ ।
१२) सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रुहरुलाई बाधा पुग्ने गरी म्युजिक तथा भिडियो सिस्टम चलाउन पाइने छैन । लैङ्गिक हिंसालाई प्रोत्साहित गर्ने वा महिला वर्गको अपमान हुने खालको गीत, संगीत वा भिडियो बजाउन वा सञ्चालन गर्न पाइने छैन ।
सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई महिलामैत्री बनाउने सन्दर्भमा यस्ता सवारीसाधनमा चालक परिचालक तथा कर्मचारी नियुक्ति गर्दा महिलावर्गलाई प्राथमिकता दिनुपर्नेछ । लैगिंक हिसाविरुद्ध र आचार संहिता सम्बन्धमा सचेतनासमेत बढाउनुपर्नेछ ।
यसरी नै सवारीसाधन सञ्चालनका लागि आचारसंहिता तयार गरी सबै पक्षलाई जिम्मेवार बनाउने प्रयत्न नेपाल सरकारबाट भएको पाइन्छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९को दफा १०७ मा सिट सुरक्षित राख्नुपर्ने प्रावधान राखिएको छ र यससम्बन्धी
(१) स्थानीय बाटोमा चल्ने यात्रुवाहक सार्वजनिक ठूलो सवारीमा ४ सिट अशक्त व्यक्तिका लागि र २ सिट महिलाका लागि सुरक्षित राख्नुपर्ने कर्तव्य सो यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारीधनीको हुनेछ ।
(२) लामो बाटोमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीमा २ सिट सांसद् सदस्यका लागि र २ सिट महिलाका लागि सुरक्षित राख्नुपर्ने कर्तव्य सो यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारीधनीको हुनेछ । तर त्यस्तो सिट त्यस्तो सवारी गन्तव्य स्थानतर्फ प्रस्थान गर्ने ४ घण्टा अघिसम्म मात्र सुरक्षित राखिनेछ ।
(३) उपदफा (२) बमोजिम सांसद् सदस्यले खरिद गरेको टिकट अन्य कुनै यात्रीको नाममा हस्तान्तरण हुन सक्ने छैन ।
यो मात्र भनिएबाट खासै सामान्य यात्रा गर्ने महिला तथा वृद्ध-वृद्धालाई ऐनकै आधारमा बस्ने ठाउँको आरक्षण गरेको भने भन्न सकिन्न तर पनि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को प्रावधानमा कारबाहीअन्तर्गत सामान्य अन्य साधारण दफासरह नै यसलाई लिएको पाइन्छ ।
आरक्षण सिटको व्यवस्था नगरी सवारीसाधन सञ्चालन गर्ने सवारी चालकलाई यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम वा जारी गरेको आदेशविपरीत काम कारबाही गर्ने गराउनेलाई अधिकार प्राप्त अधिकारीले २ सयदेखि हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
गत २ वर्षदेखि नेपाल सरकार महिला तथा बालबालिका मन्त्रालय महिला आयोगसमेतको सहकार्यमा ट्राफिक प्रहरीले महिला आरक्षण सिटसम्बन्धी कार्यान्वयन गर्दै आइरहेको छ ।
महिलाहरु सवारीसाधनमा चढिसकेपछि आरक्षण सिट हेर्ने खाली छ भने बस्ने खाली छैन भने कृपया यो आरक्षण सिट हो भनि भन्ने कोही अटेर गरी सिट नछोडे परिचालकलाई भन्न लगाउने त्यसो गर्दा पनि अटेर गर्नेलाइ १०३ नम्बरमा फोन गरी ट्राफिक प्रहरीलाई भन्नु र सवारीसाधनको नम्बर टिपाउनुपर्छ ।
आरक्षण सिट खोजी गर्दा आफूभन्दा वृद्ध-वृद्धा, अशक्त, फरक क्षमताका व्यक्ति हुनुहुन्छ भने उहाँहरुलाई नै बस्न दिँदा उपयुक्त हुन्छ भने कहिले कहीं आरक्षण सिट खाली छैन भने पनि अन्य सिटमा बस्नुभएका व्यक्तिले आफूभन्दा वृद्ध-वृद्ध अशक्त फरक क्षमताका व्यक्तिलाई उक्त सिट बस्न दिँदा मानवीयता नै हुन्छ । बाल-बालिकाहरु ठूला मानिसझैं समातेर अडिन सक्दैनन् उनीहरुलाई पनि सिटमा बस्ने व्यक्तिले आफूसँग राखी दिँदा दुर्घटनाबाट जोगाउन सकिन्छ ।