राष्ट्रिय अखण्डतामा कायम रहने सरकारसँग भएको सम्झौतापछि आगामी रणनीति तय गर्न ‘स्वतन्त्र मधेस गठबन्धन’ २ दिने राष्ट्रिय बैठक लहानमा सुरु भएको छ ।
बैठक लहानको मारवाडी सेवासदनमा दिउँसो सुरु भएको हो । बैठकमा कसैलाई पनि प्रवेश दिइएको छैन । यसअघि चैत ४ र ५ गते हुने भनिएपनि बैठक आजदेखि नै सुरु हुने भएको हो।
बैठकमा सरकारसँग भएको ११ बुँदे सम्झौताबारे छलफल हुनेछ। बैठकमा गठबन्धनको केन्द्रीय तदर्थ समितिसहित तराईका सबै जिल्लाका जिल्ला संगठन संयोजक लगायतका नेताहरु सहभागी हुने गठबन्धनका केन्द्रीय सहजकर्ता चन्दन सिंहले जानकारी दिए।
गठबन्धनको तदर्थ समिति संयोजकमा सीके राउत, सहसंयोजकमा कैलाश महतो, प्रवक्तामा अब्दुल खान, सहजकर्तामा चन्दन सिंह र दीपक साह रहेका छन्। सरकारसँग ११ बुँदे सहमति भएपछि रणनीति अनुसार नै गठबन्धनका नेताहरू मौन रहेको सिंहले बताए।
सरकारसँग भएको सहमति पछि जनकपुर आएका राउतको डेरामा दुई दिनसम्म उनका समर्थकहरुको केही भिडभाड देखिएपनि अचेल राउतको डेरा बाहिर सुनसान देखिन्छ।