श्रम स्वीकृतिका लागि तीन दिनदेखि कार्यालय धाउँदै आएका धनुषा गणेशमान चारनाथ नगरपालिका २ का उपेन्द्र यादव सोमवार पनि विहानै ४ बजेदेखि लाइनमा बसेका थिए । तर दिउँसो ३ बजेसम्म पनि उनको काम भएन । तर लाइनमै नबसी केही व्यक्तिले श्रम स्वीकृति लिइ फर्किरहेको देखेर उनी हैरान भए । विहानैदेखि पानीसमेत नखाइ लाइनमा बसेका यादवले मेरो काम किन भएन भनी पटक–पटक कर्मचारीलाई सोधे । तर, पटक–पटक एउटै जवाफ पाउथे– तिम्रो काम एकछिनमै हुन्छ । विहानैदेखि भोकै लाइनमा बसेकाहरुको काम नभइ दलालहरुको सेटिङ्गमा अरुको काम भइरहेका देख्दा सेवाग्राहीले हल्ला गरे ।
विहानैदेखि लाइनमै बसेका अर्का सेवाग्रही धनुषा, सबैला नगरपालिका २ का जमुना पूर्वे दुबईको श्रम स्वीकृति लिन आइतबारदेखि नै जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय धाइरहेका थिए । दलालमार्फत काम नगराएकाले उनलाई कार्यालयका कर्मचारीले वहाना बनाउँदै तारिख धाउन बाध्य पारेका थिए । छोरा बिरामी भएपछि दुबईबाट ८ दिनका लागि बिदामा आएका पूर्वे दुबई फर्किन श्रम स्वीकृतिका लागि आइतबारदेखि नै कार्यालय चहारिरहेका थिए ।
‘मेरो काम किन भएन ?’ कामै नभएपछि अति भएर उनले कार्यालयका निमित्त प्रमुख मनोज यादवलाई सोध्न गए । तर उनलाई जवाफ दिइयो – अब तिम्रो काम हुन सक्दैन, काठमाडौँ पुगेरै गराऊ ।’ दुइदिनदेखि लागातर कार्यालय धाएका जमुनाले शुरुमै किन काठमाडौँ जान नभनेको भनी प्रश्न गर्दा प्रमुख यादवले उनको शर्टको कलर समाते र दुव्र्यवहार गरे र सुरक्षाकर्मी बोलाएर कार्यकक्षबाट बाहिर निकाल्न लगाए । उनलाई दुव्र्यवहार गरेको देखेपछि सेवाग्राहीले हल्ला गर्न थाले ।
त्यत्तिकैमा गणेशमान चारनाथ नगरपालिका २ का उपेन्द्र यादवले दुव्र्यवहार गरेकोे भिडियो खिच्न थाले । उनलाई भिडियो खिचेको देखेर कार्यालयका कम्प्युटर अपरेटर सरोज यादलले उनको मोबाइल खोस्ने प्रयास गरे तर उनी विफल भए । उनले मोबाइल खोस्ने प्रयास गरेपछि उपेन्द्रको हातबाट भुँइमा उनको मोबाइल खस्यो । पछि सुरक्षाकर्मीले उनको मोबाइल कम्पयुटर अपरेटर यादवलाई थमाए । मोबाइल खोसेपछि उपेन्द्रले पटक–पटक मोबाइल फर्काउन आग्रह गरे । तर कर्मचारीले मोबाइल दिन मानेनन् । उल्टै उनलाई हप्काउँदै निर्घात कुटपिट गरे । कुटपिट गरेका कर्मचारीले उनको मोबाईल पनि रिसेट गरिदिए । कुटपीट गरेको भिडियो भाइरल हुने डरले उनको मोबाइल खोसिएको प्रमुख यादवले पनि स्वीकार गरे ।
‘भाइरल बनाउने उद्देश्यले भिडियो खिचिराखेको देखेपछि उनको मोबाइल खोसें,’ उनले स्वीकारे । जनकपुरको श्रम तथा रोजगार कार्यालयमा १४ जना कर्मचारीको दरबन्दी रहेपनि ९ जना मात्र कार्यरत्त रहेको निमित्त प्रमुख यादवको भनाइ छ । ‘उपसचिव नहुँुदा शाखा अधिकृतले नै त्यो काम हेर्नु परेको छ,’ उनले भने, ‘कर्मचारी अभावमा हामीलाई काम गर्न समस्या भैरहेको छ’ ।
कुटपिट गर्न कर्मचारीले समेत आफूले कुटपिट गरेको स्वीकार गरेका छन् । ‘गालीगलौज गरेपछि सहन सकिनँ, त्यसैले कुटपिट गरेको हुँ’, उनले भने ।
कुटाइ खाने उनी मात्र थिएनन् । विहानैदेखि लाइनमा बसेका अरु कयौँ सेवाग्राहीले पिटाइ खाएको गौशाला महोत्तरीबाट श्रम स्वीकृति लिन आएका शिवनारायण महतोले बताए । ‘विहानैदेखि तीन–चारपटक झगडा हुँदै आएको छ, सेवाग्राहीले पिटाइ खानु परेको छ’ उनले भने, ‘सानतिनो कुरा सोध्दा पनि कर्मचारीहरु रिसाउने गर्छन । ’
सर्लाही रानीगंजका सुनिल रामले पैसा दिनेहरुले काम गराएर फर्के पनि आफू दुइ दिनदेखि लाइनमा लाग्दासमेत स्वीकृति नपाएको गुनासो गरे । ‘कार्यालय परिसरमा छिरेलगत्तै विचौलीयाले ४ हजार रुपैँयाँ मागे तर पैसा दिन नसक्दा काम हुन सकेन’, उनले भने । महोत्तरी सोहर्वाका संजय यादवले काठमाडौबाट श्रम कार्यालय जनकपुर आइसकेपनि सेवाग्राहीले झन् बढी दुःख पाउने गरेको बताए । ‘काठमाडौँमा एकैदिनमा काम हुन्थ्यो, दलाललाई यतिधेरै पैसा दिनुपर्थेन, त्यहाँ कुटाइ खानुपर्ने अवस्था पनि कहिल्यै देखिएन,’ उनले सुनाए ।
वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको श्रम स्वीकृतिको सहजताका लागि स्थापना गरेको श्रम तथा रोजगार कार्यालय जनकपुरमा बिचौलियाहरुको बिगबिगी छ । सहज ढंगले काम गराउन आउँदा कर्मचारीले कैयौं दिन कुराउने हुँदा सेवाग्राही पनि सजिलै विचौलीयाको चंगुलमा फँस्छन् । बिचौलियाले कर्मचारीसँग सेटिङ गरी आर्थिक लेनदेनका आधारमा छिटो गरिदिने आश्वासन दिँदै भन्दै सर्वसाधारण ठगिरहेका छन् ।
यसअघि जनकपुरको मुरली चोक र क्याम्पस चोकको बीचमा रहेको श्रम तथा रोजगार कार्यालय सरेर शहरदेखि एकान्त ठाउँमा गएदेखि बिचौलियाले झनै बढी प्रश्रय पाएका छन् । कार्यालयका कर्मचारी, दलाल र प्रहरी तीनैतिरबाट सेवाग्राहीहरुले समस्या झेल्नु परेको छ । धनुषाका निमित्त सिडिओ वेदप्रसाद अर्यालले न्यून कर्मचारी र सेवाग्राहीको धेरै भिडभाड हुने भएकाले श्रम तथा रोजगार कार्यालयलाई व्यवस्थित गर्न नसकिएको बताए ।