प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेटमा अबण्डा रकम राखेको भन्दै विपक्षी दलले कडा आलोचना गरेको छ ।
बुधवार बसेको प्रदेशसभा बैठकमा बजेटमाथिको छलफलको क्रममा बोल्दै प्रतिपक्षी नेपाल कमयुनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका सांसदहरुले अबण्डा रकम कार्यकर्ता र भाइ भान्जा पाल्न राखेको टिप्पणी गरे ।
नेकपा सांसद दिलिप साहले प्रदेश सरकारले राखेको अबन्डा बजेट ठोस रुपमा रेड बुकमा नराखि सदन ठप्प गर्ने चेतावनी दिए । बजेटमा प्रत्येक मन्त्रालयले अबण्डा बजेट राखेर सरकारले प्रदेशलाई बदनाम गर्न खोजेको उनले बताए । ‘अबण्डा बजेटमा मन्त्रीहरुले चाहेजस्तो रकमान्तर गरी प्रदेशलाई बदनाम गर्नेछ । २७ वटा योजनामा बजेट नै नराखिएकाले भोलिका दिनमा यो रकम मन्त्रीले आफ्नो हिसाबले बाँगडफाड गर्ने देखिन्छ,’ साहले भने ।
सरकारलले ल्याएको बजेट प्रदेशमन्त्रीहरुलाई आन्तरिक भागबण्डा गर्ने बजेट रहेको उनले टिप्पणी गरे । संघीयतालाई अगाडी बढाउनेगरी बजेट ल्याइएको भनिएपनि यो बजेटले प्रदेश २ लाई दुनमरीया बनाउने सांसद साहले उल्लेख गरे । आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले संघीय सरकारले प्रदेशलाई विभेदगरी बजेट ल्याएको गरेको टिप्पणीप्रति उनले पहिले आफुतिर हेर्न सुझाव दिए । ‘संघयि सरकारले बजेटमा विभेद गरेको भन्छौँ तर प्रदेशले ल्याएको बजेटमा कोसँग विभेद गर्यौ त्यो किन भनि राख्या छैनौ । संघीय सरकारमाथि मात्र औला ठडयाउने काम नगरौँ, ’ उनले भने ।
सांसद साहले बजेटले कृषिमा आधुनिकिकरण र शिक्षामा सुधार आउन नसक्ने बताए । उनले लामो संघर्ष र बलिदानीपछि जन्मिएको सरकारले संघर्षको बाटो पुर्णत बिराएको दावी गरे । स्थानीय तहलाई दिएको शशर्त अनुदान मन्त्रीले आफ्नो कार्यकर्ता पाल्नमा खर्चिएको दावी गरे ।
नेकपाकै अर्का सांसद रामचन्द्र मण्डलले अबण्डा रकमले प्रदेशलाई अग्नी बनाइदिने बताए । ‘२७ वटा शिर्षकमा पैसा छुटयाइएको छैन् यसले भ्रष्टचार निम्त्याउँछ र प्रदेश बर्बाद हुन्छ,’उनले भने । सांसद मण्डलले संघीय र प्रदेश सरकार दुबै संघीयता विरोधी काम गरेको आरोप लगाए ।
नेकपाकै अर्का सांसद डिल्ली प्रसाद उप्रेतीले बजेटमा अबण्डा रकम राखिएकोप्रति आपत्ति जनाए । ‘जहाँ धेरै रकम हुनुपथ्र्यो त्यहाँ छैन् काम नै नगरी कार्ययोजना बनाउनमै सिमित हुने बजेट देखिएको छ,’ सांसद उप्रेतीले भने ।
काँग्रेस सांसद नरेश यादवले अबण्डा रकम भ्रष्टाचारी गर्ने रकम रहेको बताउँदै सरकारले तत्काल रेड बुकमा समावेश गर्न माग गरे । गत आर्थिक वर्षमा मन्त्रालयमा रहेको बअबन्डा रकम मन्त्रीहरुले आ–आफ्नो जिल्लामा पठाएर नाम तोकेरै आफन्तलार्य बाँडने गरेकाले भ्रष्टाचार दिनानुदिन मौलाउदै जाने निश्चित रहेको दावी गरे । ‘अबण्डा रकमले अगामी आर्थिक वर्षमा पनि भ्रष्टाचार जारी रहने निश्चित छ अपारदर्शी रकम भाइ, भान्जा र कार्यकर्ता पाल्नमै खर्च भइरहेको देखिएकाले यसलाई भाइ, भैया र कार्यकर्ता पोस्ने बजेट भनेर नामाकरण हुनुपर्दछ,’उनले भने ।
समाजवादी पार्टीका सांसद रामअशिष यादवले पनि अबण्डा रकम अपारदर्शी रहेकाले यसमा ध्यान दिनुपर्ने आवश्क्ता औँल्याए । ‘अबण्डा रकम आपदर्शी रकम हो यो वास्तमै कसैकालागि राम्रो होइन,’ सांसद यादवले भने । उनले संघीय व्यवस्थामा नयाँ अभ्यासमा रहेकाले बजेटमा जुन रुपले उत्साह हुनुपर्ने हो त्यस्तो हुन नसकेको बताए । राजपा सांसद परमेश्वर साहले अबण्डा रकम प्रत्येक योजनामाबजेट विनियोजन भएर आउनुपर्ने धारणा राखे ।
राजपाकै अर्की सांसद रिना यादवले बजेटले सबैकुरालाई समेटने प्रयास गरेको भएपनि केही महत्वपुर्ण योजनामा बजेट बढाउनुपर्ने बताइन् । ‘स्वच्छता अभियान, सुलभ शौचालय, बेटी पढाउ बेटी बचाउ जस्ता योजनामा अझै बजेट बढाउनुपर्छ किनकी धेरैजसो क्षेत्रमा बजेट अभावले सेवा प्रभाव हुन सकेको छैन् ,’उनले भनिन् ।
‘चुरे जोगाउ मधेस बचाउ’ अभियान अन्तर्गत सरकारले छुटयाएको ५ करोड बजेट पर्याप्त रहेको बताउँदै उनले चुरे संरक्षणकालागि अझै बजेट बढाउनुपर्ने बताइन् । प्रदेशमा शान्ति सुरक्षा ठूलो चुनौती रहेकाले आन्तरिक मामिलामन्त्रालयमा समेत बजेट बढाउनुपगृहमन्त्रलायलमा सुरक्षा चौनौती बढेकाले अझै बजेट बढाउनुपर्ने उनले तर्क गरिन् । प्रदेशसभा सांसद निर्वाचन क्षेत्रमा समानुपातिक सांसदलाई विभेद गरिएको भन्दै बजेटमा समान व्यवहार नभए आन्दोलन चर्काउने उनले चेतावनी समेत दिइन् ।
काँग्रेस सांसद शिवचन्द्र चौधरीले सरकारले ल्याएको बजेट वितरणमुखी नगरी हिम्म्त नहार्न सुझाव दिए । उनले विश्वविद्यालय स्थापना गर्नु भनेजति सहज नभएकाले संघीय सरकार मातहतमै रहेको विश्वविद्यालयमै प्राविधिक शिक्षा लागु गनुपर्ने बताए ।