नेपाली काँग्रेस प्रदेश २ की प्रदेशसभा सांसद गीता यादवले समानुपातिक सांसदसँग विभेद गरिए सदन ठप्प गर्ने चेतावनी दिएकी छन् । बिहीवार बसेको प्रदेशसभा बैठकमा बजेटमाथिको छलफलको क्रममा बोल्दै सांसद यादवले प्रदेशसभा सदस्य निर्वाचन विकासक्षेत्र कार्यक्रम अन्र्तत समानुपातिक सांसदलाई गत वर्षझैँ कटौती गरेर बजेट दिइए सदन अबरुद्ध गर्ने चेतावनी दिएकी हुन् ।
महिलाहरुलाई सदन भित्र पनि महत्वपुर्ण पदीय भागबाण्डामा विभेद गरिएको बताउँदै उनले अगामी दिनमा यस्ता विभेद गरिए पार्टीबाट निस्कासित गर्ने भनी ह्वीप जारी गरेपनि आफूले नमान्ने चेतावनी दिइन् ।
‘सरकार समानताका कुरा गर्छ तर सदन भित्रै महिलासँग विभेद गरिन्छ अगामी दिनमा कुनै महत्वपुर्ण पदको कुरा आउँदा हामीलाई समावेश नगराए पार्टीले पनि ह्वीप जारी गर्दा मान्दैनौ,’ सांसद यादवले भनिन् ।
साइकल बाँडेर मात्र महिलाको सम्मान नहुने भन्दै उनले सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि ल्याएको बजेटमा महिला हिंसा न्युनीकरणकालागि ठोस कार्यक्रम नल्याइएकोप्रति आपत्ति जनाइन् ।
‘गाउँ गाउँमा बोक्सी भन्दै महिलालाई मलमुत्र खुवाइन्छ, बालविवाहको अवस्था पनि भयावह छन तर यी प्रथाहरु अन्त गर्न बजेटमा जनचेतनामुलक कार्यक्रमकालागि ल्याइएको छैन्,’ उनले भनिन् । बजेटमाथिको छलफल प्रदेशसभामा अहिले जारी छ ।