प्रदेश २ सरकारको कार्यशैली सन्तोषजनक नरहेको भन्दै चौतर्फी आलोचना हुन थालेपछि समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबीच मन्त्रीमण्डल फेरबदल गर्ने विषयमा गोप्य कुराकानी भएको छ ।
योग दिवसका अवसरमा जनकपुर आएका दुवै नेताबीच गत शुक्रबार जनकपुरको एक होटलमा पार्टी एकीकरणका साथै प्रदेशको मन्त्रीमण्डल फेरबदल गर्ने विषयमा गोप्य वार्ता भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार समाजवादी पार्टीका अध्यक्ष यादवले नै मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीमण्डल फेरबदल गर्ने प्रस्ताव राखेका हुन् ।
‘संघीयता टिक्ने वा असफल हुने प्रदेश २ बाट निर्धारण हुने हो तर सरकारको कार्यशैलीले राम्रो देखिएन यसले संघीयता धरापमा पर्ने खतरा छँदैछ जनता पनि निराश छन् त्यसैले दुबै अध्यक्षबीच यसबारे कुराकानी भएको हो,’ एक नेताले भने, ‘कुनै एक मन्त्रीको कार्यशैली देखेर मात्र यसबारे छलफल भएको होइन मुख्यमन्त्री सहितका मन्त्रीमण्डल फेरबदल गर्ने कुरा आएको छ तर यो भन्नेबित्तिकै तुरुन्त हुने होइन ३÷४ महिना समय लाग्न सक्छ ।’
यसअघि सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष यादवले मन्त्रीमण्डल फेर्ने प्रस्ताव राख्दै आइरहेको ती नेताले बताए । उनका अनुसार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव र भौतिक पुर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलमध्येबाट मुख्यमन्त्री बनाउने विषयमा छलफल भएको छ ।
महतो र यादवबीचको गोप्य बैठकमा स्थगित भएको पार्टी एकीकरण प्रक्रिया पुनः सुरु भएको बताइएको छ । ‘महतो राजपाबाट वार्ता समितिका संयोजक पनि हुन् त्यसैले पार्टी एकीकरणबारे पनि छलफल हुनु स्वाभाविक हो वार्ता सकारात्मक दिशातिर अघि बढेको छ,’ उनले भने । राजपामा ६ अध्यक्ष रहेकाले एकीकरण भएपछि कुन नेतालाई कुन ठाउँमा व्यवस्थापन गर्ने विषयमा विवाद रहेकाले एकीकरण प्रक्रियामा समस्या आएको हो । राजपाको सिद्धान्तमा मुलुकको कार्यकारी प्रधानमन्त्री हुनुपर्ने हो तर समाजवादीको सिद्धान्तअनुसार राष्ट्रपति हुने व्यवस्था भएकाले यसमा पनि विवाद देखिएको उनले बताए ।