प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सरकार कुनै क्षेत्रमा जनताको अपेक्षा अनुरुप काम गर्न नसकेको स्वीकार गरेका छन् । स्पेसखबरसँग कुराकानी गर्दै मन्त्री यादवले मन्त्रीहरुको कार्यशैली ठिक हुन नसक्दा जनताले सरकारबाट खोजेको प्रतिफल पाउन नसकेको बताए ।
‘जनताले प्रदेश २ बाट बढी नै अपेक्षा राखेका छन् र प्रतिफल पनि राम्रो खोज्छन्,’ उनले भने, ‘जनताको अपेक्षा अनुसार कुनै क्षेत्रमा हामीले काम गर्न सकेका छैनौ यसमा कुनै दुइमतको कुरा छैन् ।’
मन्त्री यादवले राजपा र समाजवादी दुबै पार्टीको शिर्ष नेतृत्व तहले प्रदेशका मन्त्रीहरुको मुल्यङकन गरी कमजोर कार्यशैली रहेका मन्त्री फेरबदल गर्ने वातावरण बनिरहेको बताए । ‘मन्त्रीको कार्यशैली हेर्दा मन्त्री फेरबदल गनुपर्ने माहौल बनेको छ ।
मन्त्रीमण्डल फेरबदल गर्न २÷३ महिना समय लाग्न सक्छ तर तत्कालै मुख्यमन्त्री फेरबदल हुने सम्भावना छैन,’ प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री यादवले भने,‘ कुन मन्त्रीको कार्यशैली निराशजनक छ, शिर्ष नेतृत्वले हरेक कोणबाट रिपोटिङ गरेका छन् र जनताले पनि राम्ररी बुझेका छन् ।’
मन्त्री यादवपले प्रदेश २ सरकारले संघीयता संस्थागत गर्न धेरैजसो राम्रो काम पनि गरेको दावी गरे । जनकपुरमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोबीच सरकारलाई कसरी जिम्मेवार बनाउने विषयमा समेत छलफल भएको उनले जानकारी दिए । बैकठमा पार्टी एकिकरणका साथै प्रदेश सरकारले ल्याएको बजेट गौरबका योजनाहरुमा कसरी खर्चिने बारेमा छलफल भएको मन्त्री यादवले बताए ।