सरकारले नमुना विद्यालय घोषणा गरेको धनुषाको विदेह नगरपालिका–६ स्थित जनता माध्यमिक विद्यालयमा पठनपाठन ठप्प भएको छ । शिक्षकहरु तलबभत्ताको माग गर्दै आन्दोलनमा उत्रेपछि विद्यालयमा पठनपाठन ठप्प भएको हो । नगरपालिकाले विद्यालयको बजेट रोक्का गरेपछि शिक्षकले तलब नपाउँदा पठनपाठन ठप्प गरी धर्नामा बस्न बाध्य भएको प्रधानाध्यापक पवन मण्डलले जानकारी दिए ।
विद्यालयको खाता फुकुवा गरी तलब भुक्तानी गर्नुपर्ने, विद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने, विद्यार्थीको छात्रवृति, पाठयपुस्तक वितरण र दिवा खाजा वितरण तत्काल सुरु गर्नुपर्ने, विद्यालयको जग्गा अतिक्रमण बन्द गर्नुपर्ने लगायतका माग अघि सार्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन्।
नगर प्रमुख बेचन दासले कमिसन मागेको र नदिएपछि शिक्षकको तलब, विद्यार्थीको छात्रबृति र विभिन्न निकायबाट आएका करोडौंको योजना रोकेको प्रधानाध्यापक पवन मण्डलले बताए। मेयर दासले शिक्षकहरुको माग पुरा गर्ने प्रतिवद्धता जनाएर पछि हटेको मण्डलले बताए । विद्यालयको विवादमा पठनपठन ठप्प भएको सन्दर्भमा नगरपालिकाका प्रमुख दाससँग सम्पर्क हुन सकेको छैन् ।