रत्नसागर मन्दिरका पुर्व महन्त बैकुण्ठ दासलाई उच्च अदालत जनकपुरले १२ वर्ष जेल सजाय सुनाएको छ ।
किर्ते जालजासी गरी मठमन्दिरको जग्गा बेचबिखन गरेको मुद्दामा फरार भएका दासलाई जिल्ला शिक्षा कार्यालय महोत्तरीका तत्कालीन शाखा अधिकृत लाल झाको हत्यासम्बन्धी मुद्दामा अदालतले बुधबार यस्तो सजाय सुनाएको हो । उच्च अदालतले घटनाका योजनाकार महन्त दास रहेको ठहर गरेको पीडितका तर्फबाट बहस गरेका अधिवक्ता विमल मिश्रले जानकारी दिए ।
उच्च अदालतका मुख्य न्यायाधीश हरिकुमार पोखरेल र न्यायाधीश बालकृष्ण उप्रेतीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला बदर गर्दै महन्त दासलाई जेल सजाय सुनाएको छ ।
जनकपुरधाम–८ स्थित आफ्नो घरबाट मोटरसाइकलमा जलेश्वरका लागि हिँडेका झाको २०६७ कार्तिक ११ गते घर नजिकै गोली प्रहार गरी हत्या भएको थियो । हत्या अभियुक्तहरु शिवकुमार, सुनिल र राकेशको हकमा भने जिल्ला अदालतको फैसला उच्च अदालतले भने सदर गरेको छ ।
यसअघि जिल्ला अदालत धनुषाका ओमकार उपाध्यायको इजलासले घटनामा संलग्न भनिएका शिवकुमार ठाकुर, सुनिलकुमार अधिकारी र राकेश पाण्डेयलाई जन्मकैदको फैसला सुनाएको थियो भने महन्त दासलाई सफाइ दिएको थियो ।