प्रदेश २ को प्रदेश सभामामा विनियोजन विधेयक पारित भएको छ । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६÷०७७ को लागि ल्याएको ३८ अर्ब ७२ करोड ५६ लाखको बजेट संसदबाट सर्वसम्मत पारित भएको हो । बजेट छलफलको क्रममा सांसदहरुले अबण्डा रकमको शिर्षक खोज्दै संसद नै अवरुद्ध गरेपछि अनिश्चितकालका लागि स्थगित गरिएको संसद अषाढ मासन्तको अन्तिममा आएर पारित भएको हो ।
लगातार दुइदिनको छलफलपछि मंगलवार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले प्रस्तुत गरेका विधेयक सर्वसम्मतिले पारित भएको हो । मुख्यमन्त्री लालबाबु राउतका साथै सम्बन्धीत मन्त्रीले छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिइसकेपछि विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको हो ।
संसदमा बिनियोजन विधेयक २०७६ माथि उठेको प्रश्नहरुको जवाफ दिदै प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले बजेट भन्दा बढी आवश्कता तथा महत्वकांक्षा भएको कारण बजेटमा असन्तुष्टि आउनु स्वभाविक भएको बताए । उनले भने, ‘गर्मीमा लु, जाडोमा शितलहर र वर्षामा बाढी जस्ता समस्या वर्षैभरि व्याकूल रहने प्रदेश २ ले आकांक्षा राख्नु स्वभाविक हो, तर त्यो अनुसारको बजेट नहुँदा सिमिति श्रोत साधनमा बढी भन्दा बढी आवश्यकता परिपूर्तीका लागि प्रदेश सरकारले अबण्डा रकम राखेको हो, म आफै अवण्डा रकमबाट सन्तुष्ट छैन ।’
यसैगरी मुख्यमन्त्री मो. लालबाबु राउतले विगतमा गरेको गल्तिलाई प्रदेश सरकारले सच्चयाउँदै अघि बढ्ने सांसदलाई विश्वास दिलाए । उनले भने, ‘आफ्नो गल्तिलाई स्विकार गर्नु, आत्मआलोचना गर्नु साथै सुधार गर्नु सरकारको धर्म हो, हामी पनि भोली प्रतिपक्षी दल हुदैनौं भन्ने कुरा छैन, त्यसैले संघीयताकाे जननी प्रदेश २ सरकारले गर्ने हरेक कुराले भोलिका दिनमा निरन्तरता पाउने भएकोले सरकारको गल्तिलाई स्विकादै सच्याउनुपर्छ ।’
प्रस्तुत विधेयक उपर नेपाली काँग्रेसका प्रदेश सभा सदस्य शिवचन्द्र चौधरी र नेकपामा सदस्य सिता गुरुङ्गले खर्च कटौतीको प्रस्ताव दर्ता गराए पनि सत्तारुढ सांसदका साथै मन्त्री र मुख्यमन्त्रीको समेत आग्रहमा उनीहरुले आफनो प्रस्ताव फिर्ता लिएका थिए ।