व्यापक मागका बाबजूद सार्वजनिक बिदा नदिएको सरकारले पृथ्वी जयन्ती भने मनाएको छ। सिंहदरबार पश्चिम गेटअगाडिको पृथ्वीनारायण शाहको सालिकमा मार्ल्यापण गरेर सरकारले जयन्ती मनाएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले शाहको सालिकमा माल्यार्पण गरेकी हुन्। त्यसअवसरमा नेपाली सेनाको टुकडीले राष्ट्रपतिमा सम्मान पनि गरेको थियो। समारोहमा सरकारका प्रवक्ता सूचना तथा सन्चार प्रविधि मन्त्री गोकुल बास्कोटालगायत मन्त्री, उच्च पदस्थ पदाधिकारीहरु उपस्थित थिए।
नेपाली झण्डासहितका राजावादीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा राष्ट्रपति मुस्किलले ५ मिनेटमात्र बसेकी थिइन्। राष्ट्रपति आउने कार्यक्रम भएका कारण सिंहदरबार वरपरको सुरक्षा व्यवस्था कडा पारिएको थियो। बेलायतले आफ्नो साम्राज्य फैलाइरहेका बेला एकीकरण गरेर नेपाल जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका शाहको जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिनुपर्नेमाग चौतर्फी रुपमा उठ्दै आएको थियो। तर सरकारले त्यसलाई बेवास्ता गर्यो, बरु क्रिसमसलगायतका धार्मिक पर्वहरुमा बिदा दिने निर्णय गर्यो।
२०६२ सालसम्म प्रत्येक वर्ष पुष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा राज्यले समेत मनाउने गर्थ्यो। तर, २०६३ सालमा तात्कालिन गृहमन्त्रीको मन्त्रीस्तरीय निर्णयले यो दिवसमा दिइदै आएको बिदा हटाइएको थियो।