नगर प्रमुख लालकिशोर साहले आफ्ना माग सम्बोधन नगरेको भन्दै जनकपुर उपमहानगरपालिका वडाध्यक्षहरुले हातमा कालोपट्टी बाँधेर काम गरेका छन्।
पूर्वघोषित कार्यक्रम अनुसार वडाध्यक्षहरु सोमवारदेखि आन्दोलनमा उत्रेका हुन्। आफूहरुले बुझाएको १६ बुँदे माग पूरा गर्नतर्फ pपमहानगरपालिकाले चासो नदेखाएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साहले बताए।
संवैधानिक व्यवस्था अनुसार अधिकार प्रत्यायोजन, दैनिक कार्य, भैपरी आउने कार्यका लागि स्वायत्त व्यवस्था, वडा कार्यालयमा आवश्यक मानवीय, भौतिक, आर्थिक संशाधनका स्वायत्त परिचालनको व्यवस्था हुनुपर्ने लगायतका माग उनीहरुले राखेका छन्।
यसअघि आन्दोलित वडाध्यक्षहरुले उपमहानगरपालिकालाई माग पूरा गर्न १३ माघसम्म अल्टिमेटम दिएका थिए। २५ मध्ये असन्तुष्ट १६ जना वडा अध्यक्षले सातदिने अल्टिमेटम दिँदै २५ पुसमा १६ बुँदे मागसहित उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए। उपमहानगरपालिकाले सम्पत्तिमा गरेको कर वृद्धिसम्बन्धी निर्णयमात्र सम्बोधन गरेको वडाध्यक्ष साहले बताए।
आन्दोलनरत वडाध्यक्षहरुले माघ १४ र १५ गते हातमा कालोपट्टी बाँधी आ–आफ्नो वडा कार्यालयमा काम गर्ने, १८ गते पेन डाउन, २० गतेदेखि बिहान १० बजेदेखि एक घन्टा धर्ना बस्ने कार्याक्रम तय गरेका छन्।
यसैगरी, २१ माघदेखि दैनिक १–१ घन्टा अवधि बढाउँदै २७ गते बिहान १० बजेदेखि ६ घण्टा धर्ना दिने कार्यक्रम रहेको छ। यस अवधिमा पनि माग सम्बोधन नभए माघ २८ र २९ गते २४ घण्टे रिले अनशनमा बस्ने असन्तुष्ट वडा अध्यक्षहरुले जनाएका छन्।