नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रदेश २ सरकारले कर्मचारीहरुलाई अनाहकमा दुःख दिएको भन्दै आपत्ति जनाएका छन्।
उनले प्रदेश सरकारलाई कर्मचारी परिचालन तथा सरुवा बढुवा गर्ने धेरैजसो अधिकार नरहेपनि राजनीतिक आस्थाका आधारमा आफ्नो प्रभावको दुरुपयोग गरी कर्मचारीलाई दुःख दिएको भन्दै आपत्ति जनाएका हुन्।
नेपाल निजामती कर्मचारी युनियन संघले शनिवार जनकपुरमा आयोजना गरेको प्रदेश भेला कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले निजामती कर्मचारीहरु देशका स्थायी सरकार रहेको भन्दै उनीहरुलाई नडराई निर्भिक्क भएर काम गर्न आग्रह गरे।
‘प्रदेश सरकारले कर्मचारी प्रशासनलाई भेदभावपुर्ण तरिकारले परिचालन गर्दै छ’, पुर्वाउपप्रधान तथा गृहमन्त्री समेत रहेका निधिले भने, ‘प्रदेश सरकारको अधिकारलागि हामी पनि लड्दै छौँ तर अहिले अधिकार नै नरहेको अवस्थामा सरकारको यस्तो रबैया छ भने अधिकार पाइसकेपछि के गर्छ होला ?’
निजामती कर्मचारीको हकहितकालागि काँग्रेस तत्पर रहेको बताउँदै उनले कर्मचारीको वृति विकासकालागि प्रदेश सरकारले पनि सोच्नुपर्ने आवश्यक्ता रहेको बताए । अधिनायकवादी संघीय सरकारले संघीयता विफल बनाउन विभिन्न संयन्त्र खटाएकाले प्रदेश सरकारलाई समेत सचेत हुनुपर्ने बेला रहेको उनको भनाइ छ ।
कम्युनिष्ट विचारधारा र संघीय प्रणाली एक अर्काको विरुद्धमा रहेको दावी गर्दै उनले वर्तमान सरकार मन्दिर र मस्जिद एकअर्कालाई स्वीकार नगरेको स्थितीमा रहेको उल्लेख गरे । ‘वर्तमान सरकारको अवस्था मन्दिरमा मौलवी र मस्जिदमा परोहित रहेको जस्तै छ,’ उनले भने ।
काँग्रेस उपसभापति निधिले संविधान र लोकतन्त्र बचाउन ४ वर्षपछि संघीय प्रणाली स्वीकार गर्ने सरकार ल्याउन आह्वान गरे । उनले संविधान र संघीयता दुबै खतरामा रहेकाले संघीयता बचाउन कर्मचारी लगायत सबैले आ– आफ्नो ठाउँबाट आन्दोलनकालागि तयार भएर बस्नुपर्ने बताए । वर्तमान सरकार सबैतीरबाट असफल भइसकेको जिकिर गर्दै निधिले सरकारले मुलुकमा डर, त्रास फैलाइरहेको आरोप लगाए ।