नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठका ९९ वर्षीय पिता पुण्यप्रसाद श्रेष्ठको शनिबार निधन भएको छ। श्रेष्ठको काठमाडौँ ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
२००७ सालदेखि नै कांग्रेसमा सक्रिय स्वर्गीय श्रेष्ठ २०१५ को आमनिर्वाचनमा पार्टीका पूर्व सभापति कृष्णप्रसाद भट्टराईलाई विजयी गराउन गोरखाको उत्तरी क्षेत्रमा सक्रिय रहेका थिए। स्वर्गीय श्रेष्ठ नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागी रहँदै आएका थिए।
कांग्रेस सभापति शेरबहादुर देउवाले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। श्रेष्ठको निधनबाट कांग्रेसलाई अपूरणीय क्षति पुगेको र पार्टीले एक प्रेरणादायी व्यक्तित्वलाई गुमाएको बताउँदै सभापति देउवाले उनको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय सदस्य श्रेष्ठसहित शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।