तराई मधेसमा हजाे नै होली पर्व सम्पन्न भइसकेपनि जनकपुरमा आज उल्लासका साथ होली पर्व मनाईंदैछ ।
१५ दिने मिथिला मध्यमा परिक्रमा समापनको भोलिपल्ट मात्र होली पर्व मनाउने परम्पराअनुसार शुक्रबार जनकपुरमा होली मनाइँदै छ । परापूर्वकालमा असत्यमाथि सत्यको विजय भएकोे किंवदन्ती अनुसार होली पर्व मनाउने गरिन्छ ।
यस्तै त्रेतायुगमा भगवान रामले आफनो ससुराली जनकपु्रमा आएर होली खेलेको स्मरणमा अाज मिथिलाञ्चलमा घरघरमा मालपुवा, खीर, पुरीलगायत विभिन्न प्रकारका मिष्ठान्न परिकार बनाएर खाँदै, रमाउँदै, रंग, गुलाल, अबीर एक अर्कालाई लगाएर होली पर्व मनाउँदैछन् ।
वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलमा होली पर्व अनौपचारिक रुपमा शुरु भएको मानिन्छ । मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा धार्मिक तथा ऐतिहासिक स्थल महोत्तरीको भंगहा नगरपालिकास्थित कञ्चनवन पुगेपछि त्यहाँबाट नै होली पर्व विधिवत शुरु भएको मानिन्छ ।
त्यस स्थलमा भगवान श्रीरामले सीतासँग होली खेलेको धर्मिक विश्वासअनुसार परिक्रममा सहभागीहरुले एक आपसमा अबीर दलेर होली खेलेपछि पर्व विधिवत रुपमा सुरु हुन्छ ।
होलीको प्रारम्भसँगै मिथिलाञ्चलमा होरी गायन पनि हुन्छ । तर पछिल्लो समय आधुनिकताको कारण होरी एवं जोगिरा गायन लोप हुन थालेको छ । शहरी क्षेत्रमा लोप नै भए पनि ग्रामिण भेगमा अहिले होली पर्वको दिन साँझ होरैयाहरु समूहमा ढोलक, झाईल, डम्फा, मृदंगजस्ता बाजागाजको तालमा प्रत्येकको घरदैलोमा गएर जोगिरा गाउने गर्दछन् । यसले मिथिलाञ्चलको होलीलाई थप आकर्षक बनाउँछ ।