फेटा गाउँपालिका पुरैनियाकी कलमुनिया अन्सारीकी घरमा आइतबार साँझ ठूलो बज्रपात आइप¥यो। विनाशकारी आँधीमा कलमुनियाकी बहिनी नसिमाकी दुई सन्तानमध्ये २ वर्षीय छोरोको घरमै च्यापिएर मृत्यु भयो भने छोरी अस्प्तालकै शैयामा जीवन र मृत्युको दोसाँधमा छन्। बच्चाका आमासहित परिवारका पाँचजना अस्पतालमा छन् भने बच्चाका बुवा वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन्।
साँझपख हुरीबतास आएपछि भाग्दै गरेको बाख्रा समात्न बच्चा च्यापेर आगनबाट घरबाट बाहिर निस्केकी थिइन् कलमुनिया।
बाहिर ठूल्ठूला असिना खस्न थाल्यो। बाख्रा समात्दै उनी घर अगाडिको पक्की छतको घरमा पुगिन्। त्यत्तिकैमा आकाशबाट बिजुली चम्किँदै आगोको गोला झर्न थाले। आँधीबेहरीको गर्जनसँगै गाउँमा भागाभाग शुरु भयो। मानिसहरु ‘बचाउ,बचाउ’ भन्दै घरबाट निस्किन थाले।
एकाएक जोडले आएको आँधीले करिब डेढ मिनेटमै सबै घर भत्के । मान्छेहरु चिच्याउँदै घरबाट बाहिर निस्केको कलमुनियाले सुनिन्। घर छेउका रुख र पोल घरमै ढल्न थाले।
घरमा बच्चा, आमा, बहिनी लगायतका सदस्यहरु इटामा पुरिएर चिच्याइरहेका थिए। कहिल्यै थाहा नपाएको बज्रपातको प्रत्यक्षदर्शी हुनुपर्दा उनी आफैलाई सम्हाल्न नसक्ने अबस्थामा थिइन्। घरको छेउमै १० जनाको मृत्यु भएको छ। कलमुनियाकी बहिनी नसिमा अस्पतालमा उपचार गराइरहेकी छिन्।
बिजुलीको पोल ढलेपछि गाउँ अन्धकार भएको छ। गाउँलेले मोवाइल फोन चार्ज गर्नसमेत पाएका छैनन्। मोबाइल चार्ज नहुँदा नसिमाले विदेशमा रहेका श्रीमानसँग छोरोको मृत्युको खबरबाहेक अहिलेसम्म दुःख पीडाका कुरा गर्न पनि पाएकी छैनन्। आइतवार साँझ खाना पकाइसकेर खान मात्र बाँकी रहँदा उनको परिवारमा यस्तो बिपत्ति परेको थियो। कलमुनियाले घटना भएकोदेखि मंगलबारसम्म भात खान सकेकी थिइनन्। राहतको नाममा मुरही र च्युराको मिठाइ (लाई) बाहेक केही पाउन नसकेको उनको भनाई छ।
सरकारी निकायदेखि एनजिओ, आइएनजिओ लगायतका विभिन्न सामाजिक संघसंस्थासमेत राहत बोकेर पुगेका छन्। हावाहुरी प्रभाबित बस्तीमा गाडीको लस्कर लागेको भए पनि व्यवस्थित हुन नसक्दा पीडितले राहत पाउन सकेका छैनन्।
‘राहत लिएर आउँछन तर बोल्न सक्नेले मात्र पाउँछन् हामीले राहतको नाममा न त त्रिपाल पाउन सकेका छौँ न त खाद्यान्न नै’, उनले भनिन्। खाद्यान्नको नाउमा च्युरा, चाउचाउ र बिस्कुटले मात्र पेट भर्न नसकिने उनको गुनासो छ। ‘हामी जसोतसो खाइहाल्छौँ तर बच्चा यी चिज खाएर कतिसम्म बस्न सक्छन्’, चारजना बच्चालाई काखमा च्यापेर बसेकी उनले भनिन्, ‘गर्मीको मौसममा तिर्खा मेट्न पाएका छैनौं, बच्चालाई सम्हाल्न मुस्किल छ।’
फेटा गाउँपालिका भरबलिया टोलमा मानवीय क्षती कम भएपनि ठूलो भौतिक क्षति भएको छ। आइतबारको भुमरीले उजाड बनेका वस्तीमा प्रायः गरिब, दलित र मुस्लिमको बसोबास छ। पुरनिया टोलमा मंगलबार साँझ सशस्त्र प्रहरीले पालको व्यवस्था गरे पनि प्रतिघर एउटा मात्र त्रिपाल पाउन सकेका भरबलीयाका पीडितले मंगलवार पनि खुला आकाशमै रात बिताए। अँध्यारो रातमा भरबलियाकी संगिता बिन बच्चालाई काखमा लिएर चिन्तित देखिन्थिन्। उनकी आमा अस्पतालमै उपचार गराइरहेकी छन्। उनका बच्चाले खानाका नाममा दिनभरि चाउचाउ, बिस्कुट र च्युराको मिठाइ (लाइ) बाहेक केही पाएनन्। यस्ता ‘जङ्क फुड’ले बच्चालाई पखाला लाग्ने डर लागेको छ उनलाई।
भरबलियाकै जनक बैठाले एकद्वार प्रणाली लागु नहुँदा सबैले राहत पाउन नसकेको गुनासो गरे। एउटै व्यक्तिले पटक–पटक राहत पाइराखेका छन् भने नपाउनेले एकपटक पनि पाउन नसकेको उनको गुनासो छ। ‘गाउँको एक कुनाबाट शुरु भएको राहत वितरण त्यतै सकिन्छ हामी पाउनै सक्दैनौ’,उनले भने। राहत सामग्रीको नाममा रेडिमेड खानेकुरा पर्याप्त आएको भए पनि दाल, चामल, तरकारी र ग्याँस पाउन नसकेको स्थानीयको गुनासो छ।
‘बिस्कुट, च्युरा चाउचाउले पेट भरिदैन, राहतका नाममा खाद्यान्न जरुरी छ,’ स्थानीय बिन्दा पटेलले भने।
दिनभरि नेताहरुको ओइरो देखिए पनि स्थानीय जनप्रतिनिधिले रातको समयमा केही सहयोग नगरेको स्थानीयले बताए । ‘दिनमा नेतादेखि बाहिरबाट आएका मान्छेको ओइरो लागेको हुन्छ तर रातमा हामी अँध्यारोमा भोकै बस्यौ वा खायौ भनेर वडाध्यक्षहरु पनि सोध्न आउँदैनन्’ स्थानीय रामबाबु बैठाले सुनाए। ढलेका सयौँ पोल उठाउने पहल अहिलेसम्म हुन सकेका छैन। जताततै तार लतारिएको छ।
शौचालय र खानेपानीको उतिकै समस्या छ। तत्काल शुद्ध खानेपानी र अस्थायी शौचालय निर्माण नगरिए महामारीको रुप लिन सक्ने अवस्था छ, भरबलियालगायत भुमरी पुगेको गाउँमा। मरेका पशुचौपाया तथा चराचुरुंगीको दुर्गन्धले गाउँमा थप महामारी निम्त्याउँने उत्तिकै डर छ ।