बारा र पर्सामा हालै आएको हावाहुरीबाट प्रभावितलाई प्रदेश ५ सरकारले एक करोड सहयोग गर्ने निर्णय गरेको छ।
प्रदेश ५ मन्त्रिपरिषदको शुक्रबारको वैठकले प्रदेश २ सरकारको खातामा जम्मा हुने गरी प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले तत्कालै रकम जम्मा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीले जानकारी दिए।
यस्तै मन्त्रिपरिषद वैठकले काठमाडौं नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत प्रदेश सभाका विपक्षी दलका नेता ८२ वर्षीय बलदेव शर्मा पोखरेललाई ५ लाख रुपैंया सहयोग गर्ने निर्णय गरेको छ। नेता पोखरेललाई क्यान्सर भएको छ।
वैठकले प्रदेशसभा सदस्यहरुको १० लाख रुपैंया बराबरको स्वास्थ्य वीमा गर्ने भनिएको प्रदेश सरकारको नीतिलाई तत्कालै कार्यान्वयनमा ल्याउने निर्णय समेत गरेको प्रवक्ता चौधरीले बताए।
स्वास्थ्य वीमापछि प्रदेशसभा सदस्य र मन्त्रीहरु विरामी भएमा सरकारले १० लाख रुपैंयासम्म उपचारमा खर्च गर्नु पर्दैन। वैठकले प्रदेश ५ को आवधिक योजनाको आधारपत्र स्वीकृत गरेको छ।