सरकारले ल्याएको गुठी विधेयकको विरोधमा जनकपुरका साधुसन्त तथा महन्तहरुले प्रदर्शन गरेका छन्। गुठी विधेयक हिन्दु धर्म संस्कृतिमाथिको प्रहार भएको ठहर गर्दै आइतवार साधुसन्तले जुलुस प्रदर्शन गरेका हुन्।
‘संघीय सरकार मुर्दावाद, गूठी विधेयक फिर्ता गर, केपी ओली मुर्दावाद’ लगायतका नारा लगाउँदै सन्तमहन्तहरुले प्रदर्शन गरेका थिए। जनकपुरको तुलसी स्मारकबाट सुरु भएको ¥याली जानकी चोक, पुरानो बजार, जनक चोक, राम चोक, शिव चोक, कदम चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो।
साधुसन्तहरुले विधेयक फिर्ता लिन माग गदै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। ‘संघीय सरकारले गुठी विधेयक ल्याएर हिन्दू धर्म र संस्कृतिमाथि नै प्रहार गर्न लागेकोले विधेयक तत्काल फिर्ता लिन माग माग गर्दछौँ, सरकारले विधेयक फिर्ता नलिए यहाँका साधुसन्त कडा संघर्षमा जानेछन्,’ ज्ञापनपत्रमा भनिएको छ । ज्ञापनपत्र बुझाउँदै सुन्दर सदनका महन्त नवल किशोर शरणले विधेयक फिर्ता नलिए साधुसन्तहरु चरणबद्ध आन्दोलन गर्ने बताए।