‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमअन्तर्गत प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार छात्राहरुलाई साइकल वितरण गरेका छन्। जनकपुरस्थित सकल भवन कन्या माविमा कक्षा ८ मा अध्ययनरत १ सय १४ छात्रालाई राउतले साइकल वितरण गरेका हुन्।
त्यसअवसरमा मुख्यमन्त्री राउतले साइकलबाट टाढा–टाढाबाट विद्यालय आउने छात्रालाई सहज हुने विश्वास व्यक्त गरे । प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत शिक्षा बिमा, महिलामैत्री शौचालय निर्माणजस्ता कार्यक्रम अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अंग्रपक्तिमा राख्ने सोच लिएको उनले बताए।
अभियानअन्तर्गत यस आर्थिक वर्षमा प्रदेशका ८ वटै जिल्लामा सामुदायिक विद्यालयमा अध्ययनरत १४ हजार छात्रालाई साइकल वितरण गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ। छोरीलाई पढाइमा प्रोत्साहित गर्ने उद्देश्यले पहिलो चरणमा ४ हजार र दोस्रो चरणमा १० हजार साइकल वितरण गर्न लागेको अभियानकी कार्यक्रम संयोजक प्रियंका यादवले बताइन् । ‘दलित, गरिब, जेहन्दार र टाढाबाट आउने विद्यार्थीको नाम विद्यालयले सिफारिस गरेपछि मागअनुसार साइकल उपलब्ध गराउँदै छौं,’ उनले भनिन्।
रौतहट, बारा र पर्साका विद्यालयका लागि वीरगन्जमा, सर्लाही, महोत्तरी र धनुषाका विद्यालयका लागि जनकपुरमा, सिरहा र सप्तरीका लागि राजविराजमा साइकल राखिएको छ।
पहिलो चरणमा सामुदायिक विद्यालयको कक्षा ८ देखि १० कक्षासम्म र दोस्रो चरणमा कक्षा १२ सम्मका छात्रालाई साइकल वितरण गरिने योजना रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश २ मा अधारभूत तहको पढाइपछि विद्यालय छाड्नेमा छात्राको संख्या उच्च रहेकाले माध्यमिक तहसम्म छात्रालाई पढ्न प्रोत्साहन गर्न साइकल उपलब्ध गराउन लागिएको संयोजक यादवले बताइन ।