प्रदेश २ सरकारले सर्लाहीमा प्रर्दशनकारीमाथि गोली प्रहार गर्ने प्रहरीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले आइतवार प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको र ३ जना घाइते भएको घटना दुःखद रहेको बताए ।
‘समान्य विवादको क्रममा प्रहरीले गोली चलाएको छ यो एकदमै दुःखद हो । टाउकोमा गोली लागेर एकजा प्रदर्शनकारीको मृत्यु भएको छ ’स्पेसखबरसँग कुराकानी गर्दै मन्त्री यादवले भने, ‘प्रदेश सरकारले मृतक परिवारलाई क्षतिपुर्ती र घाइतेको उपचार खर्च उपलब्ध गराउने छ ।’ घटना छानविनकालागि प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्रालयका निमित सचिव अरुण झाको संयोजकत्वमा छानविन समिति समेत गठन गरेको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका बाँकेमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा डुबेर १२ वर्षीय अमित कुमार यादवको मृत्यु भएको घटनाको विरोधमा राजमार्ग अबरुद्ध गर्न पुगेका प्रहरी र स्थानीयबीचको झडपमा प्रहरीले गोली चलाएको थियो ।
प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरेर ढुंगामुढा गरेपछि सुरुमा लाठी चार्ज, १५ राउन्ड अश्रु ग्यास र रबरको बुलेट प्रहार गरेको थियो । त्यसपछि पनि प्रदर्शनकारीले ढंगामुढा तीव्र गरेपछि प्रहरीले हवाइ फायर गरेको थियो । प्रहरीका अनुसार हवाइ फायरकै क्रममा गोली लागेर केवल महतोको मृत्यु भएको हो । झडपमा ११ जना घाइते भएका छन जसमा ८ जना प्रहरी र ३ जना स्थानीय रहेको छ ।