धनुषाको शहीदनगर नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७का लागि ४३ करोड १२ लाख ६४ हजारको बजेट ल्याएको छ । कृषिलाई प्राथमिकतामाराखि बिहीबार शहीदनगर नगरपालिकाको तेस्रो नगरसभामा बजेट विनियोजन गरिएको हो । पूँजिगततर्फ १७ करोड ६७ लाख ६५ हजार, चालु तर्फ ९ करोड १० लाख ९९ हजार विनियोजन गरिएको छ ।
त्यस्तै सशर्त अनुदान तर्फ १६ करोड ३४ लाख रहेको छ । बजेटमा कृषिका अतिरिक्त शिक्षा, स्वास्थ्यलाई समेत प्राथमिकतामा राखिएको छ । नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख उदय कुमार बरबरियाले नगरको सरसफाइलाई समेत प्राथमिकतामा राखेका छन् । सरसफाई अभियान अन्तर्गत नगरमा फोहोर फयाक्नेलाई देख्नेले टिप्न लगाउने अभियान चलाईने नीति तथा कार्यक्रममा उल्लेख छ ।
वडा स्तरमा विकास गर्नका लागि प्रत्येक वडाका लागि १ करोड बजेट छुट्याइएको छ । राजश्व वाँडफँडबाट १० करोड ४२ लाख ७९ हजार नगरको अनुमानित आय रहेको छ । जसमा संघ सरकारबाट ९ करोड ९३ लाख, पदेश सरकारबाट ४९ लाख ७९ हजार रहेको छ । आन्तरिक श्रोतबाट ३ लाख रुपैया अनुमानित आय रहेको छ ।