जनकपुरधाम उपमहानगरमा प्रधानमन्त्री रोजगार कार्यक्रम चालु आर्थिक वर्षमा कार्यक्रम संचालनमा नआउने निश्चित भएको छ। योजना शाखाले इष्टिमेट तयार पारेर नदिएका कारण रोजगार कार्यक्रम संचालनमा नआउने भएको हो।
रोजगारीका लागि जनकपुरधाम उपमहानगरमा २५ वटै वडाबाट १० हजार युवाले आवेदन बुझाएका छन्। तर बेरोजगारलाई न्यूनतम रोजगारी नभए निर्वाह भत्ता उपलब्ध गराउने व्यवस्था गराउन सरकारले शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा नआएपछि जनकपुरका युवाहरु आक्रोशित बनेका छन्।
संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनका लागि जनकपुरधाम उपमहानगरलाई उपलब्ध गराएको एक करोड बजेट कार्यक्रम संचालन नभएपछि फ्रिज हुने निश्चित भएको हो। सरकारले सातवटै प्रदेश र प्रत्येक स्थानीय तहमार्फत सञ्चालन गर्ने भनेको रोजगार कार्यक्रम प्रक्रियामा रह पनि सुरु हुन नसकेको जनकपुरधाम उपमहानगरपालिकाका रोजगार संयोजक सन्तोष महतोले जानकारी दिए।
जनकपुरधामका २५ वटै वडाबाट आवेदन संकलन, श्रमिक छनौट, कुन योजना कार्यान्वयन गर्ने विषयमा कागजी प्रकृया पूरा गरे पनि योजना शाखाले इष्टिमेट तयार पारेर उपलब्ध नगराएको उनले आरोप लगाए। ‘हामीले १ हजार ९० युवालाई कम्तीमा १० दिनको रोजगारी उपलब्ध गराउने लक्ष्य राखेका थियौँ तर योजना शाखाले इष्टिमेट तयार पारेर नदिएकाले कार्यक्रम शुरु हुन सकेन,’ महतोले भने, ‘वृक्षारोपण, सरसफाई लगायतका कार्यक्रम संचालनमा ल्याउन सकिन्थ्यो।’
उनका अनुसार प्रत्येक श्रमिकलाई ६ सय ५० रुपैयाँको दरले दैनिक ज्यालामा कम्तीमा १० दिन रोजगारी दिने लक्ष्य राखिएको थियो।
योजना शाखाले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनका लागि इष्टिमेट तयार पारेर पनि नदिएको सम्बन्धमा जनकपुरधाम उपमहानगरका योजना शाखा प्रमुख इन्जिनियर वीरेन्द्र यादवले कार्यक्रम सम्बन्धमा आफूलाई केही जानकारी नरहेको बताए।