जनकपुरस्थित तुलसी स्मारकका पुजारी शिवशंकर दासले बालबालिकामाथि यौन दुव्र्यवहार गर्ने गरेको खुलासा भएको छ । मन्दिरमा बालबालिकालाई निःशुल्क ट्युसन पढाउने बहानामा जनकपुरधाम उपमहानगरपालिका–८ स्थित तुलसी स्मारकका पुजारी दासले साना बालिकामाथि यौन दुव्र्यवहार गर्दै आएको आरोप लागेको हो । बलात्कारको आरोपमा पीडित पक्षले उजुरी गरेपछि उनीमाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर भएको छ ।
साधुको भेष धारण गरेका उनले पछिल्लो दुई वर्षदेखि बालबालिकाहरुलाई पढाउने नाममा यौन दुर्व्यवहार गर्ने गरेको अभिभावकको आरोप छ । पुजारी दासको दुष्कर्म थाहापाएपछि अभिभावको पटक पटक दबाब आएपछि साधुसन्तहरुले समेत प्रहरीसँग कारवाही गर्न माग गरेका छन् ।
आइतबार धनुषाका प्रहरी उपरीक्षक शेखर खनाललाई साधुसन्त र संघसंस्थाका प्रतिनिधिले ज्ञापन पत्र बुझाउँदै कार्वाहीको माग गरेका हुन् । गलत कृयाकलापले धर्म र समाजमा विकृति बढेका भन्दै साधुसन्तको टोलीले तत्काल यस समस्याको समाधानका लागि तुलसी स्मारकबाट पदच्यूत गरी हटाउन र कारवाही गर्नका लागि पनि माग गरेका हुन् ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले भने, ‘अभिभावकहरुले पटक पटक पुजारीलाई कार्वाही गर्नुपर्ने भनी माग गरेपछि हामीले रमानन्दीय संघका पदाधिकारीहरुसँग बैठकमा छलफल गरी कार्वाही हुनुपर्ने निष्कर्षमा पुगेका छौँ,’ जानकी मन्दिरका उत्ताराधिकारी महन्त राम रोशन दासले भने । उनले घटनाले सनातन हिन्दु धर्मप्रति प्रहार भएको भन्दै अडम्बरी पाखण्डी बाबाहरुलाई तह लगाउन आवश्यक रहेको बताए ।
यौनदुराचारको आरोप लागेका शिवशंकर दासको घर भने भारत विहारको सुपौल जिल्ला हो । तुलसी स्मारकमा रहेको तत्कालिन रामानन्दीय वैष्णव संघका अध्यक्ष तथा रत्नसागर मठका महन्त वैकुण्ठ दास वैष्णवले आफ्नो निकटका व्यक्ति रहेका शिवशंकर दासलाई पुजारीको रुपमा नियुक्त गरेका थिए ।
यता विभिन्न मुद्दामा अपराधि सावित भइसकेका रत्नसागर मठका महन्त वैकुण्ठ दास वैष्णव जालसाजी तथा ठगी मुद्दा तथा ज्यान कर्तव्य मुद्दामा १२ वर्षको लागि जेल सजाय फैसला पूर्व नै भारततर्फ फरार छन् । महन्त वैकुण्ठ दास वैष्णवका शिष्य समेत रहेका शिवशंकर दासले गुरु वैकुण्ठ दासको कामकारवाहीहरु गर्दै आएका थिए ।
साधुसन्तसहित पीडितको टोली जिल्ला प्रहरी कार्यालय धनुषामा गएको थाहा पाए लगत्तै दास पनि दिउसो अन्दाजी १२ बजेको समयदेखि नै कुटीका अधिकांश सामाग्री सहित फरार छन् । पुजारी दासले हालसम्म ६ जना भन्दा बढी बालिकासंग यौनदुष्कर्म गरेको आरोप छ । जसमध्ये एक जना पीडित परिवारले मात्रै उनीमाथि उजुरी दिएका छन् ।