धनुषा र सिरहाको बिचमा रहेको कमला नदीमा गएरातिदेखि फसेका एकजनालाई उद्धार गरिएको छ ।
सिरहाको बन्दिपुर स्थित रहेको कमला नदिमा कुटि बनाएर बस्दै आएका सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर २ बस्ने स्थानीय गुद्रु मुखियालाई नेपाली सेना र माझीको सहयोगमा उद्धार गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।
घरमा सुतिरहेको अवस्थामै अचानक बाढी आउँदा उनको घर बगाएर लगेपनि आफै बाँचेर उनी रुखमाथि चढेका थिए । वर्षा भइरहेको कारण मुखियाको उद्धारमा समय लागेको प्रमुख जिल्ला अधिकारी कणेलले बताए । लगातारको अविरल वर्षाले कमला नदीमा बाढीको बहाव बढेको छ । कमला आसपासको वस्तीमा सतर्कता समेत बढाइएको छ ।