प्रदेश २ को उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका कर्मचारीहरु कमिसनका लागि होटेलमा बसेर योजनाको मूल्यांकन गरिरहेको रहस्य खुलेको छ ।
असार मसान्तको अन्तिममा कामको भुक्तानी दिनुपर्ने भएकाले उपभोक्ता समिति मार्फत गरेको कामको मुल्याङ्कन होटलबाटै गरेको पाइएको हो । आर्थिक वर्ष २०७५–०७६ मा मन्त्रालयले पर्यटन पूर्वाधार निर्माणका लागि ५० करोड रुपैयाँको काम उपभोक्ता समितिमार्फत गराइएको बताइएको छ ।
सोमरबार जनकपुरको वेलकम होटेलबाट कमिसन लेनेदनमा उपभोक्ता समितिको कार्य मूल्यांकन गरेका मन्त्रालयका कर्मचारीहरुले मंगलबार भने जनकपुर शिवचोकको सिटी स्टार होटेलबाट काम गरेका छन् ।
सिटी स्टार होटेलको कोठा नम्बर २०५ र २०८ मा मन्त्रालयका फाइल, प्रिन्टर, ल्यापटप लगेर कर्मचारीहरु काममा व्यस्त थिए । त्यस्तै काम गराउन उपभोक्ता समितिका पदाधिकारीहरु पनि फाइल र कमिसन बोकेरै होटेल पुगेका थिए । होटेलमा राजपा नेपालकी प्रदेश सांसद रानी शर्मा तिवारीसमेत पुगेकी थिइन् । होटेलमै कमिसनको सेटिङमा मन्त्रालयको काम भइरहेको थाहा पाएपछि पत्रकारहरुको टोली उनीहरुलाई पछ्याएका थिए । त्यसपछि कर्मचारी, काम गराउन पुगेका प्रदेश सांसद तथा उपभोक्ता समतिका पदाधिकारीहरु पालैपालो ल्यापटप र प्रिन्टर बोकेर होटेलबाट निस्केका थिए । संचारकर्मीको प्रश्नमा एक कर्मचारीले मन्त्रालयमा ठाउँ अभावका कारण होटेलमा आएर काम गरेको प्रतिक्रिया दिए ।
स्रोतका अनुसार विगतका विभिन्न गतिविधिले आलोचित हुँदै आएका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय यादवको सेटिङमा कर्मचारीहरुले कमिसनबापत मोटो रकम असुल्न मन्त्रालय छाडेर होटेल होटेल पुगेका थिए । राजपा नेपालबाट मन्त्री बनेका उनी भुक्तानीअघि सबै उपभोक्ता समितिबाट अनिवार्य १५ देखि २० प्रतिशत रकम लिन उर्दी नै जारी गरेको श्रोतको दावी छ । यता मन्त्रालयका निमित्त सचिव जगदीश गुप्ताले आफ्ना कर्मचारी होटेलमा गएर कमिसन लिएर काम गर्ने गरेको कुरा अस्वीकार गरेका छन् ।