जनकपुरमा करेन्ट लागेर पति पत्नीको रहस्यमय मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थामा मंगलवार साँझ २६ वर्षीय टेकनाथ महासेठ र उनको पत्नी १७ वर्षीय विना महासेठ सुत्ने कोठामा करेन्ट लागेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घरभित्र ढोकाको चुकुल लागेको अवस्थामा ओछ्यानमा पतिपत्नी संगै सुतेको अवस्थामा मृत फेला परेको प्रहरी निरीक्षक उमाशंकर साहले बताए। ‘तार छिचोलेर खुट्टामा तीन पटक बेरेर बेड छिउमै रहेको विद्युत बोर्डमा जोडेर करेन्ट लागेको देखिएको छ,’ उनले भने, ‘अंगालो हानेर खुट्टा बेड तल झरेको र शरीर बेडमै रहेको अवस्थामा शव फेला परेको हो,’ उनले भने। टेकनाथ इलेक्ट्रेसियनको काम गर्दै आएका थिए।
घटना आत्महत्या जस्तो देखिए पनि पति पत्नीबीच सधैँ सुमधुर सम्बन्ध रहँदै आएकाले घटना रहस्यमय देखिएको प्रहरीको भनाइ छ। घरमा महासेठको आमा मात्र रहेको बेला घटना भएको हो। उनका बुवा रामा महासेठ मुजेलियामा पसल सञ्चालन गर्दै आएका छन्। गत वैशाख ६ गते महोत्तरीको हरिनमरी बस्ने बैजु परियारकी छोरी बिनासँग धुमधामका साथ समाजिक परम्परा अनुसार टेकनाथको विवाह भएको थियो। दुबैको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहले बताए।