जनकपुरको रामजानकी अस्पतालमा चिकित्सकको लापरबाहीले मृत्यु भएको बिरामीको शव अस्पताल र पीडित पक्षबीच सम्झौतापछि उठाइएको छ।
जथाभावी औषधीको प्रयोगले बटेश्वर गाउँपालिका ३ का ५२ वर्षीय बिन्देश्वर ठाकुरको मृत्यु भएपछि अस्पतालले पीडित पक्षलाई साढे ४ लाख दिने सहमती भएपछि शव उठाइएको हो।
आईतवार विहान ७ बजे अस्पतालमा भर्ना भएका ठाकुरको जथाभावी औषधीको प्रयोगले मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको थिया। आक्रोशित पीडित पक्ष घटनाको सुक्ष्म छानविन र क्षतिपुर्ती दिन माग गर्दै अस्प्तालमै प्रदर्शन गर्न थालेपछि आइतवार साँझ प्रहरीले लाठी चार्ज समेत गरेको थियो। समान्य अवस्थामै रहेको ठाकुरको उपचारमा संलग्न डा. संजय चौधरी र प्रेम सिंहले बिल बढाउन लगातार १० वटा सुइ लगाएपछि उनको मृत्यु भएको परिवारजनको आरोप छ।
मृतक परिवार र अस्पताल प्रशासनबीच भएको सहमती गोप्य राख्ने शर्तमा मात्र क्षतिपुर्ती दिने सहमती भएको श्रोतले जनाएको छ। ‘समाचार आएपछि अस्पतालको बदनामी हुने भएकाले मिडियामा सहमतीबारे जानकारी नगराउने शर्तमा मात्र क्षतिपुर्ती दिने सहमती भएको हो,’स्रोतले भन्यो।
अस्पताल सञ्चालक गणेश साहले भने क्षतिपुर्ती दिने विषयमा कुनै सम्झौता नभएको दावी गरे। ‘घटनाबारे पीडित पक्ष र अस्पतालबीच आज छलफल हुन्छ। त्यसपछि मात्र कुनै निष्कर्षमा पुग्छौँ। क्षतिपुर्ती दिने सहमती अहिलेसम्म भएको छैन,’ उनले भने। सम्झौतापछि बिना पोष्टमार्टम परिवारजनले शव लगेर अन्तिम संस्कार गरेको छ।
पछिल्लो समय जनकपुरका सरकारी अस्पतालका साथै निजी अस्पतालमा समेत चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु हुने गरेको आरोप लाग्दै आएको छ। केहीदिन अघि मात्र जनकपुरको आस्था हस्पिटलले एकजना महिलाको समान्य प्रसुति बापत ५ लाखको बिल थमाएका थिए। त्यसपछि युवाहरुको चासो देखाएपछि ३५ हजार रुपैयाँ लिएर बिरामी डिस्चार्ज गरेको थियो। जिल्ला प्रशासन कार्यालयले अनुगमनको क्रममा उक्त हास्पिटलमा शिल गरेको छ।